आलिया भट्टको ‘गंगूबाई काठियावाडी’को छायांकन रातमा

कोरोना कहरको समयमा फिल्मको छायांकन सुरु गर्ने कलाकारको सूचीमा अभिनेत्री आलिया भट्ट पनि थपिएकी छन् ।

भारतमा कोरोना महामारी कम भएको छैन । दैनिक ६० हजार भन्दा धेरै संक्रमित देखिएका छन् । तर, पनि बलिउड चलचित्रको छायांकन भने सुरु भएको छ । नायिका आलिया भट्टको मुख्य भूमिका रहेको सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘गंगूबाई काठियावाडी’ को छायांकन सुरु गरेकी छन् ।

यो फिल्मको छायांकन जनवरीभित्र पूरा गर्ने तयारी गरिएको छ । भारतीय मिडियाका अनुसार, अहिले फिल्मको छायांकन मुम्बईको फिल्मसिटीमा भइरहेको छ । सुटिङका क्रममा चलचित्रका कलाकार र अन्य सदस्यहरुको समय बचाउनका लागि निर्देशक भन्साली र उनको टिमले रातको समयमा छायांकन गरिरहेको छ ।

फिल्मका एक सदस्यले बलिउड भाष्करसँँग भनेका छन्, ‘कलाकार र क्रू मेम्बर साँझ परेपछि सेटमा आउँछन् र रातभरी छायांकन गरेर विहान घर फर्किन्छन् । दिनभरी आराभ गरेपछि फेरि साँझमा सेटमा फर्किन्छन् । यसले सबै मुम्बईको ट्राफिकमा फस्नबाट बच्छन् ।’ नायिका आलिया भट्ट पनि रातको समयमा चलचित्रको छायांकन गर्नका लागि तयार भएकी छिन् ।

चलचित्रको छायांकन आउँदो बर्षको जनवरी महिनासम्म पुरा गर्ने योजना निर्देशक संजयलिला भन्सालीको छ ।

भन्सालीले अर्को वर्षको जनवरीसम्म यही सेड्युल राख्न चाहेका छन् । फिल्ममा अभिनेता अजय देवगनको केमियो भूमिका हुने भारतीय मिडियाले बताएका छन् । त्यस्तै, आलियाको अपोजिटमा रणवीर सिंह हुने चर्चा छ । तर, उनीसँग निर्देशक भन्सालीको सम्झौता भएको छैन ।

यो चलचित्रमा नायिका आलिया भट्टको भूमिका फरक छ । यसैले पनि चलचित्रलाई लिएर आलिया उत्साहित छिन् । चलचित्रको छायांकनका क्रममा चलचित्रसँग आवद्ध केही सदस्यहरुलाई कोरोना संक्रमित पनि देखिएको थियो । तर, पनि चलचित्रको टिमले छायांकन रोकेको छैन ।

सन् १९६० को दशकमा मुबईंको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूबाईको जीवनीमा फिल्म बन्न लागेको हो । फिल्मले कसरी एउटा सम्भ्रान्त परिवारकी शिक्षित युवती वेश्यावृत्तिमा लाग्छिन् र देहव्यापारका लागि बदनाम कमाठीपूरामा शासन गर्छिन् भन्ने बारेमा आफूलाई पेश गर्नेछ ।

चलचित्रमा दुई अलग कालखण्डलाई प्रस्तुत गर्ने तयारी भन्सालीको छ । सन् १९४६ को कमाठीपुरा देखाउनका लागि भन्सालीले सेटलाई फरक तरिकाले डिजाइन गर्न लगाएका छन् ।

आलिया भट्टले पहिलो पटक निर्देशक सञ्जय लीला भन्सालीसँग काम गर्न लागेकी हुन् ।