‘मुन्द्रेको कमेडी क्लब’ मा दीपाको ठाउँमा करिश्मा, ‘समाचारमा आए जस्तो कसैलाई निकालिएको होइन’
जीतु नेपालले संचालन गर्दै आएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजन आगामी सोमबार देखि प्रसारण हुँदैछ ।
‘मुन्द्रेको कमेडी क्लब’ ले छोटो समयमा दर्शकमाझ राम्रो क्रेज बनाएको छ । टिभीमा भन्दा यूट्युबमा सर्वाधिक हेरिने यो शो अहिले नेपाली फिल्म प्रचारका लागि पनि गतिलो प्लेटफर्म बनेको छ । यो शोमा फिल्मको प्रचार गरे दर्शकको ठूलो वर्गमा पुगिने विश्वास निर्माता तथा निर्देशकमा छ ।
दोस्रो सिजनको शोमा केही कुराहरु परिवर्तन गरिएको छ । पहिलो सिजनमा दिपाश्री निरौला अध्यक्षको रुपमा रहेकी थिइन् भने दोस्रो सिजनमा करिश्मा मानन्धर अध्यक्षको रुपमा देखिदैछिन् ।
जीतुले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि बन्द भएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै अब यो शो पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा अपनाएर शोलाई फेरि सञ्चालनमा ल्याउन लागिएको कलाकार नेपालले जानकारी दिएका छन् । शोको ४ भागको छायांकन पूरा भइसकेको छ ।
पहिलो सिजनमा कमेडी क्लबको अध्यक्षमा दीपाश्री निरौला थिइन् । तर, दोस्रो सिजनमा उनलाई अभिनेत्री करिश्मा मानन्धरले रिप्लेस गरेकी छन् । लकडाउनमा ठूलो विवादमा तानिएका कारण कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा दीपाश्रीलाई हटाइएको र उनको ठाउँमा करिश्मालाई चुनिएको चर्चा छ । तर, यस विषयमा टिमबाट कुनै जानकारी प्राप्त भएको छैन ।
अध्यक्षमा करिश्मा मानन्धर आएपछि दिपा बाहिरिएको भन्ने खबरले मिडिया छायो । तर, जीतु नेपालले अध्यक्षमा दिपाश्री निरौला नरहेपनि सहकार्य नटुट्ने बताए ।
करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिजनमा आफूले अध्यक्षता ग्रहण गरेको बताएकी छन् । जीतु नेपालको आग्रह नकार्न नसकेर आफू शोमा आबद्ध भएको उनको भनाई छ । उनी भन्छिन्, ‘दीपाजीको विषयमा मलाई थाहा भएन । मलाई जीतु भाईले दोस्रो सिजन हो भनेर प्रस्ताव राख्नुभएको थियो । उहाँ (जीतु नेपाल) सँग मेरो आत्मीय सम्बन्ध भएका कारण शोमा आबद्ध भएँ ।’
निर्देशक तथा कलाकार दीपाश्रीले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिरिजमा आफू नरहने घुमाउरो शैलीमा बताएकी छन् । आइतवार सामाजिक सञ्जाल फेसबुकमा उनले पहिलो सिरिजमा अध्यक्षमा चुनेर रमाइलो कुर्सीमा बस्ने अवसर दिएकोमा जीतु नेपाललाई धन्यवाद दिएकी छन् । उनले निकट भविष्यमा केही फरक कार्यक्रमका साथ टेलिभिजनमा फर्किने बताएकी छन् ।
यता जीतु नेपालले फेसबुकमा लेखेका छन्, ‘मुन्द्रे कमेडी क्लबको ७६ भाग सम्म पहिलो सिजनको अध्यक्ष आदरणीय दिपाश्री निरौला ज्यु सहित आदरणिय राजाराम पौडेल दाई लुनिभा तुलाधर जी, सिवहरी बैरागी दाई, सन्धा बुढा (काउली बुढी)ज्यु, राजेन्द्र नेपाली (लट्टे)भाई सबै जना मुन्द्रे कमेडी क्लब परिवारको सदस्य हो कुनै पनि बेला हाम्रो सहकार्य फेरि रहन्छ । कसैलाई पनि समाचारमा आएको जस्तो निकालिएको होइन । फेरि कोहि आउनै नमिल्ने ल्याउदै नल्याउने होइन केबल सिजन–२ मा केही नयाँ गरौं भन्ने मुन्द्रे कमेडी क्लबका निर्माता निर्देशक लगायत निर्माण टिमको सल्लाहमा यसका अध्यक्ष लगायत केही पात्रहरु परिवर्तन हुनु भएको हो । परिवर्तन हुनु भनेको हटाउनु होइन । अर्को सिजनमा फेरि पनि हाम्रो सहकार्य अवश्य रहनेछ । कार्यक्रमको आवश्यकता अनुसार हामी सबैलाई समेट्ने छौं । सिजन–२ को नयाँ भाग आगामी सोमबारबाट राती ८.५० बजे नेपाल टेलिभिजनमा र त्यसपछि जीतु कमेडी युट्यव च्यानल मार्फत संसार भर हेर्नसक्नु हुनेछ ।’
प्रतिक्रिया