फेम नेपाल र सुन्दरीको सहकार्यमा खाना, मास्क र स्यानिटाइजर वितरण

फेम नेपालको आयोजनामा ‘मिस हङकङ नेपाल २०१७’ का विजेताहरुले कोरोना भाइरसको कारण समस्यामा परेका व्यक्तिहरुलाई खाना खुवाएका छन् । काठमान्डौको महालक्ष्मीथानमा आइतबार उनीहरुले बिहानको खानाका साथ मास्क र स्यानिटाईजर समेत वितरण गरेका छन् ।

कोरोना भाइरसका कारण विश्वमा नै समस्या आइरहेको अवस्थामा नेपाल पनि यसबाट आछुतो रहन सकेको छैन । यस परिस्थितिमा धेरै सहयोगी मनहरुले समस्यामा परेका व्यक्तिहरुलाई आफुले सकेको  सहयोग गर्दै रहेका छन् । ‘हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ’ लगायतका सहयोगका कार्यक्रमहरु समेत सफलतापुर्वक संचालन भैरहेका छन् । मनोरन्जनात्मक क्षेत्रका समेत धेरै संस्था तथा व्यक्तिहरुले समेत सहयोग वितरण लगायत गर्दै आएका छन् ।

यही बीचमा मिस हङकङ नेपाल २०१७का बिजयी ३ मोडल शुष्मा लिम्बु, प्रजिला गर्वुजा र अलिजा गुरुङको समेत सहकार्यमा महालक्ष्मीथानमा  रहेको फुड तथा क्लोथ ब्यांकमा १५०जनाको हाराहारीमा रहेका व्यक्तिहरुलाई खाना वितरण गरिएको छ । उक्त कार्यक्रममा बिहानको खानाका साथमा एक हप्ता पुग्ने मास्क र एक एक बट्टा स्यानिटाईजर समेत वितरण गरिएको थियो ।

फेम नेपालका प्रमुख विमल पछाई लगायतको उपस्थितिमा भएको सहयोग वितरण कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । यस भन्दा पछि समेत यस प्रकारका सहयोग कार्यक्रम गर्दै जाने समेत पछाईले बताए ।

फेम नेपालले मनोरन्जनको क्षेत्रमा कोरोना संक्रमण अगाडी धेरै इभेन्टहरु आयोजना गर्दै आएको छ साथै स्थिति सामान्य हुना साथ केही नया सोच सहित अगाडी आउने टिमको तयारी रहेको छ ।