स्वर्गिय भट्टराईका परिवारलाई ३४ लाख रुपैयाँ हस्तान्तरण

चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष एवं कलाकार तथा निर्माता केशव भट्टराईको असमायिक निधन भएपछि उनको परिवारलाई आर्थिक जुट्ने क्रम जारी रहेको छ । आज चलचित्र विकास बोर्डको हलमा कार्यक्रमको आयोजना गर्दै समितिका संयोजक तथा निर्माता राजकुमार राईले स्वर्गीय भट्टराईकी धर्मपत्नी नीता भट्टराईलाई विदेशबाट सहयोगबाट उठेको सबै रकम (३४ लाख रुपैयाँ) हस्तान्तरण गरेका छन् ।


देश तथा विदेशमा रहेका कलाकारले आर्थिक सहयोग संकलन गर्दै आएका थिए । विदेशमा रहेका फिल्मकर्मी नारायण पुरी, कृष्ण चापागाई, सुमन दाहाल, सरेश दर्पण पोखरेल, श्याम भट्टराई, गरिमा पन्त, शंकर घिमिरे, अरुणिमा लम्साल, रञ्जना शर्मा, युना उप्रेती, गणेश उप्रेती, मुकेश ढकाल, सुमन गैरै, रिचा घिमिरे, दीलिप रायमाझि, जल शाह, सारङगा श्रेष्ठ, राजभल्लव कोईराला, भानु प्रताप, जीवन लुईटेल, बाबु बोगटी, गोपाल नेपाल, राजु लामालगायतका कलाकारले आर्थिक संकलन उठाएका थिए ।

केशवका परिवारलाई आर्थिक संकलनमा नेपालबाट राजकुमार राई, छक्का पञ्जा टिम, प्रभु शम्शेर जवरा, ओम अग्रवाल, नरेन्द्र मर्हजन, छविराज ओझा, निकिता पौडेल, विराटनगरका मेयर, चलचित्र पत्रकार संघ हेटौंडा शाखा, फिल्म आमा टिम, आकाश अधिकारी, शिशिर भण्डारीलगायतले सहयोग जुटाएका छन् । स्वर्गिया केशव भट्टराईले दर्जनौ नेपाली फिल्म दर्शकमाझ दिएका छन् । उनको योगदानको कदर गर्दै उनको परिवारलाई संंकटको घडिमा फिल्मकर्मी सहयोगमा जुटेका हुन् । भट्टराईले ‘आफ्नो मान्छे, छोडि गए पाप लाग्ला, देवर बाबु, ब्रासलेट, सो सिम्पल र अन्तिम फिल्म यात्रा निर्माण गरेका थिए ।

फिल्म निर्माणका क्रममा सुरुमा कमाएका थिए भने पछिल्ला फिल्ममा अनामनगरमा रहेको घर नै बेचेर डेरामा बस्दै आएका थिए । परिवारलाई सहजका लागि भन्दै आफ्नो सञ्चय कोष र सरसापटी गरेर एक अपार्टमेन्ट खरिद गरेका थिए । तर उनको रिन बाँकी नै रहेको थियो । जुन तिर्नका लागि परिवारका सदस्यमा अफ्ठ्यारो परेको भन्दै फिल्मकर्मीले आर्थिक संकलन गर्न थालेका थिए । भट्टराईको निधन पछि उनको परिवारमा विविध समस्यालाई समाधान गर्न गर्दै राजकुमार राईको संयोजकत्वमा नरेन्द्र महर्जन, दीपाश्री निरौला, आकाश अधिकारी, प्रकाश सुवेदी, बसुन्धरा भुषाल, निकिता पौडेल, गिरिश शर्मालगायत सदस्यहरु रहने गरि समिति गठन गरिएको थियो । भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष भएको ६ महिना नबित्दै असमायिक निधन भएको थियो ।