भाइरल गायकको उदेकलाग्दो संगीत ज्ञान
हामी पनि नाच्नु पर्छ विच्च विच्चमा । यो गीतमा दर्शक नाचे । ननाचुन् पनि किन, तीजको गीतमा गायक दुर्गेस थापाले भाइरल हुने मेसो खोजेका थिए । यो गीत भाइरल भयो । दुर्गेसलाई विच्च विच्चमा गायक भनेर चिनिएको छ ।
दुर्गेसको लोकप्रियताको फाइदा छ माया छपक्कै टिमले पनि उठाएका थिए । दुर्गेसलाई झनै लाग्यो, अब मैले जे गरिदिएपनि हुन्छ ।
उनले, यो तीजमा विच विचमा २ र ३ नै निकाले । तर, उनले गएको सालमा तीजमा पाएको जस्तो सफलता पाएनन् । गीतको आलोचना भयो । गीतको भिडियोमा उनी सारी लगाएर नाचे । मानिसहरुले तीज गीतलाई गाइजात्रा भनेका छन् ।
गएको बर्षमा रक्सी, वियर भनेर अर्को गीत निकाले । जसरी हुन्छ भाइरल हुनुछ । युटुबबाट डलर झार्नु छ । गीतसंगीत के हो, सुर ताल के हो भनेर किन वुझ्न पर्यो र । अटो ट्यूनले गायक गायिकाको स्वर राम्रै निकालिदिएको छ ।
दुर्गे थापाले आफू भाइरल भएको देखेर हौसिन त थालेका छन् । तर, उनलाई यो पटक भने एउटा अन्तरवार्ताले डुबाइदियो । धेरै कलाकारको अन्तरवार्ता गरेर ट्रोल बनाएका ऋषि धमलाले उनलाई नारायण गोपालको गीत गाउने भने । दुर्गेसलाई आएन, उनले सोची सोची गाए । सानैबाट नारायण गोपालको गीत सुनेको पनि भने । तर, उनले मुटु जलिरहेछ भन्ने गीत गाए । उनले यो गीत नारायण गोपालको नभएर भजन शिरोमणी भक्तराज आचार्यको हो भन्ने पनि थाहा पाएनन् ।
ऋषि धमलाले यो गीत फलानोको हो पनि भनेनन् । बरु, सोध्दै गए । यम बरालको गीत गाइदिनुहोस् न । उनले ओराली लागेको हरिणको ताल भो भन्ने गीत गाए । थापालाई के थाहा, यो गीत रामकृष्ण ढकालले गाएका हुन् भनेर । यी दुबै गीत यति धेरै लोकप्रिय थिए कि, अहिलेको १ नम्बर टे«न्डिङमा परेको गीतको गायकले थाहा नपाउनु लज्जास्पद कुरा हो ।
दुर्गेसले आफ्नै गीत गाउँदा पनि सुर र ताल समातेका छैनन् । यही भएर उनको आलोचनामा गायिका आस्था राउतले युटुबबाट डलर आउँछ, तर संगीतको जानकारी कसरी थाहा पाउने ? अटो ट्यूनमा गीत गाउनेहरु भनेर स्टाटस नै लेखेकी छिन् ।
भाइरल हुने जमातले गीतसंगीतको अध्ययन नगर्दा नेपाली संगीतको बेइज्जत हुन थालेको छ । दुई चार वटा टिकटक बनेका छन्, भ्यूज जती पनि गएको छ भनेर जस्ता पनि गीत निकालेर हुँदैन । युटुबमा कस्तो बिषयमा बनेको सामाग्रीको भ्यूज जान्छ भन्ने सबैलाई थाहा छ ।
दुर्गेस थापा मात्र होइनन्, अहिलेका कैयौ गायक गायिकालाई संगीतको सामान्य ज्ञान पनि छैन । युटुबमा भ्यूज र टिकटक बनेको भन्दै खुशी व्यक्त गरेर उनीहरु रमाइरहेका छन् । तर, यसले उनीहरुलाई केही समयका लागि फाइदा गर्ला, लामो समयका लागि सुखद सन्देश दिदैन ।
प्रतिक्रिया