पासपोर्टको बिषयमा निर्देशक श्यामप्रति स्वस्तिमाको आपत्ति

महानायकको विषयमा निर्देशक तथा कलाकार निश्चल बस्नेतले केही बर्ष अगाडि दिएको एक अन्तरवार्ताको क्लिप्स् अहिले भाइरल भइरहेको छ । उनले दिएको अन्तरवार्तामा नेपालमा कोहीपनि सुपरस्टार नभएको भनेर जवाफ दिएका थिए । यहि विषयलाई लिएर निर्देशक श्याम भट्टराइले निश्चल र स्वस्तिमा खड्कालाई लक्षित गर्दै एउटा स्टाटस लेखेका छन् । उनले राजेश हमालको हैसियतको बिषयमा बोल्ने निश्चलको कुन चलचित्र हिट भयो ? ‘तिमी र तिम्रो श्रीमतिको पासपोर्टको कपी पनि मसँगै छ, धेरै नबोल’ भनेर लेखेपछि पासपोर्टको बिषयमा चर्चा चलेको थियो ।

अमेरिकामा बस्दै आएका श्याम भट्टटराई र स्वस्तिमा खड्काबीच सामाजिक सञ्जालमा दोहोरी नै चलेको छ । उनले लेखेको पासपोर्टको विषयको स्टाटस अहिले हटाइसकेका छन् । श्यामले लेखेको यो स्टाटसको जवाफ दिदै अभिनेत्री स्वस्तिमाले स्टाटस लेख्दै जवाफ फर्काएकी छन् । उनले लेखेकी छन, ‘मैले कार्यक्रमको लागि पठाएको पर्सनल डकुमेन्टलाई लिएर यस्तो खालको धम्की आउनु आफैमा गत्तल प्रवृत्ती हो, त्यसरी व्यवसायिक कामका लागि पठाएको व्यक्तिगत जानकारीको कुराले विना कारण धम्काउनु आफैमा व्यवसायिक काम होइन । उहाँ जस्तो प्रतिष्ठित अवार्डको आयोजकबाट मैले यस खाले गतिविधीको अपेक्षा गरेको थिइनँ ।’

अभिनेत्री स्वस्तिमा खड्काले खण्डन गर्दै लेखेको स्टाटसमा श्यामले फेरि जवाफ फर्काउदै भनेका छन् ,‘यसरी उक्त समारोहमा उपस्थित हुन अभिप्रेरित गरेका निर्देशक निश्चल बस्नेतको हृदयभित्र हाम्रा तिन अंग्रजहरुप्रतिको सम्मान भने कुन स्तरमा रहेछ भन्ने कुरा सामाजिक संजालमा प्रशारणमा आएको देखेपछि हामी चलचित्र प्रेमी कसैलाई पनि अवश्य खुशी बनाएन र त्यस्तो थियो भने किन इच्छा जाहेर गर्नुभएको थियो त भन्ने आशयमा लेखिएको स्टाटसले तपाइलाई पर्न गएको असुविधाप्रति म चिन्ता व्यक्त गर्दछु ।’
त्यसपछि उनले थप लेखेका छन् , ‘राजेश हमाल, भूवन केसी, शिव श्रेष्ठ जस्ता नेपाली चलचित्रका महान हस्तीहरुलाई सम्मान गर्न लागिएको अवार्डमा यहाँहरुको उपस्थित हुन इच्छा देखाएर प्रक्रियाको लागि पासपोर्ट कपि मलाई दिनुभएको हो, सो बाहेक अन्य कुनै प्रयोजनका लागि नदिएको र नलिएको जानकारी पनि सबैलाई जानकारी गराउन चाहन्छु ।’

निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजनमा राजेश हमाल महानायक हो र ? भन्ने कुरा गरेपछि यो विषयले अहिले पनि चर्चा पाइरहेको छ । केहि दिन अगाडी आफ्ना दर्शक सामु यस्तो आरोप पत्यारोपमा नलाग्न अभिनेता राजेश हमालले आग्रह पनि गरिसकेका छन् । तर यस विषयको चर्चा भने सेलाउने छाँटकाँट नै देखिएको छैन ।