महिला कलाकारमाथिको संजाल आक्रमणले बढ्दैछ घर–परिवारमा त्रास
अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलाले अभिनेता राजेश हमालमाथि गरेको टिप्पणीलाई लिएर भइरहेको विवादबारे अभिनेत्री केकी अधिकारीले मुख खोलेकी छिन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले पछिल्ला विवादलाई लिएर आफ्नी आमा निकै त्रसित देखिएको उल्लेख गरेकी छिन् ।
‘बिगत केही हप्ता यता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ,’ उनले लेखेकी छिन्, ‘फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा तर आजकल हर दिन हर घन्टा आमाको आँखा अनि ध्यान फेसबुक मै हुन्छ। नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो । अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो । सहनै गाह्रो हुने प्रतिक्रियाहरु आउछन् अनि मेरो मन भतभत पोल्छ भन्नुभो ।’
आमाको सुझावले आफू घोत्लिएको भन्दै व्यंग्यात्मक शैलीमा थप लेखेकी छिन्, ‘म एकछिन घोत्लिए अनि सोचेँ, गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यस्मा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफल चाहिँ किन हुनुभो ? ल त्यो पनि पचाउने प्रयास गरुँला , अनि फेरि तपाईंले भयंकर गर्नुभो के , होइन आफ्नो भनाइ अनि बिचार किन राखेको भन्या ? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभो । यो त पराकाष्ठा नै भैगोनी । गल्ती मान्छेबाट पो हुन्छ त, माफी मान्छेलाई पो दिइन्छ त। अनि थाहा पाइपाइ यत्रो अपराध गरिदिने? हामीलाई तेस्तो अनुमती छ र? यहाँ कुनै दीपा, पूजा , बर्षालाई गल्ती गर्ने छुट छैन है । भन्देको छु नी। मान्छे बन्ने कोशिस नगर्नु ।’
केकीको आशय फिल्म क्षेत्रमा महिला कलाकार एवम् निर्देशकलाई आफ्ना कुरा खुलेर राख्ने छुट नभएको र राख्यो भने उल्ट आलोचना र अपशब्दको शिकार भइन्छ भन्ने देखिन्छ । पछिल्लो समय दीपाश्री निरौला, पूजा शर्मा, वर्षा राउत आदि महिला कलाकारमाथिको सामाजिक संजाल आक्रमण त्यही मनोविज्ञानको उपज हो भन्ने उनको ठम्याई छ । त्यसैले स्टाटसको अन्त्यमा उनले लेखेकी छिन्, ‘ल आमा तपाईंले यो पनि हेरिहाल्न्नु हुन्छ, त्यसैले ढुक्क हुनु है। मैले तेस्तो केही लेखेको छैन। हाम्रो समाजकै समर्थनमा लेखेकी छु। मैले मरणासन्न हुने गरि गाली खान्न होला । मेरो चरीत्र जोगिन्छ होला ।’
केकीको स्टाटस सेयर गर्दै अभिनेत्री स्वस्तिमा खड्काले समेत आफ्नो अनुभुति साटेकी छिन् । ‘मलाई ममीले एकाबिहानै फोन गर्नुभयो र भन्नुभयो– अहिले केही नबोल्नु है । फेसबुकभरी के–के आएको हो त्यो ? मचाँही हे भगवान, मेरो छोरीलाई चाँही केही नआओस् भनेर बसिरा’छु । सम्भवतः पहिलोपल्ट मैले मेरो ममीको आवाजमा डर महसुस गरेँ । ’
अभिनेत्रीहरु ऋचा शर्मा, निशा अधिकारी लगायतले समेत केकीको यो स्टाटस सेयर गरेकी छिन् । यसले के देखाउँछ भने पछिल्लो समय महिला कलाकारप्रति सामाजिक संजालमा भइरहेको भद्दा गाली र टिप्पणीले महिला कलाकारहरुको परिवारमा समेत चिन्ता र डरको अवस्था सिर्जना गरिरहेको छ । यस विषयमा स्वस्थ र रचनात्मक बहस आवश्यक देखिन्छ ।
प्रतिक्रिया