हास्यकलाकार सन्दिप क्षेत्रीले मागे माफी
हास्यकलाकार सन्दिप क्षेत्रीले माफी मागेका छन् । कान्तिपुर टेलिभिजनबाट उनले चलाइरहेको ‘ह्वाट द फ्लप’ बाट मधेसी महिलालाई होच्याउने काम भएको भन्दै उनी विरुद्ध उजुरी परेको थियो । त्यसका बारेमा सन्दिपले विसुद्ध मनोरञ्जन र सूचना दिनका लागि निर्माण गरिएको कार्यक्रम भएको स्पष्ट पार्दै माफी मागेका छन् ।
बिहिबार राती कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममार्फत प्रस्तोता क्षेत्रीले भनेका छन्, ‘यो कार्यक्रमलाई हामीले यहाँसम्म ल्याइ पुर्याउन तपाईं दर्शकहरुकै सल्लाह–सुझावले काम गरेको छ । तपाईंहरुको सल्लाह र सुझाव अनुरुप नै आफूलाई परिमार्जित गरेर लैजानको निमित्ति ह्वाट द फ्लप तथा कान्तिपुर टेलिभिजनका कुनै पनि कार्यक्रम हरदम तयार छन् ।’
सन्दिपले भने, ‘मैले पछिल्लो समयमा निर्माण गरेको एक चरित्रबाट एक समुदाय दुःखी भएको खबर थाहा पाएँ । त्यो खबर थाहा पाइसकेपछि म पनि मर्माहत भएको छु । त्यो मेरो आफ्नो समुदाय हो । र मलाई माया गर्ने मान्छेको मन दुखेको खबर थाहा पाइ सकेपछि मेरो मन दुःख्नु स्वभाविक हो । हुन त मेरो उद्देश्य त्यो कदाचित होइन, त्यही पनि यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म हाम्रो ह्वाट द फ्लप टिम र कान्तिपुर टेलिभिजनलाई माफी माग्न चाहान्छु ।’
सन्दिपले मिठाइलाल क्यारेक्टर गरेर तराईका मधेशीको भुमिका गर्दै आएका थिए । तर अहिले त्यो कार्यक्रम हटेको स्टेसन म्यानेजर दिनेश डिसीको भनाई छ । ‘करिव साढे चार महिना यता यो कार्यक्रममा मिठाइलालको चरित्र छैन । सन्दिपले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम‘ह्वाट द फ्लप’ मार्फत मधेसी समुदायलाई होच्याउने, उडाउने र गालीगलोज गर्ने कार्य गरेको भन्दै जिल्लाप्रहरी कार्यालय, पर्सामाजाहेरी परेको हो । उनी विरुद्ध पर्सास्थित छिपहरमाईका अशोक कुमार कुशवाहाले जाहेरी दिएका हुन् । मधेशी आयोग, नेपाल प्रेस काउन्सिलमा प्रस्तोता क्षेत्री, कान्तिपुर टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, टेलिभिजनका समाचार प्रमुख प्रशान्त अर्याल तथा कार्यक्रम शाखा प्रमुख सुरज सिंह ठकुरी विरुद्ध उजुरी परेको छ ।
प्रतिक्रिया