कोरोनाको मारमा ६३ फिल्म : विकास बोर्ड गुहार्दै निर्माता
गत चैत ११ गते कोरोना महामारीका कारण सरकारले देशभर लकडाउन लगायो । जसको असर छायाँङ्कनमा गएका फिल्मदेखि रिलिज तयारीमा रहेका फिल्मलाई नराम्रोसँग पर्यो । कोरोना महामारीका कारण अहिले विश्वभर चलचित्र क्षेत्र ठप्प छ । अरु क्षेत्रलाई जस्तै चलचित्र क्षेत्रलाई नराम्ररी प्रभाव पारेको छ यसले । फिल्म हल बन्द हुँदा र फिल्मको छायाँङ्कन रोकिएका कारण फिल्मकर्मी तथा प्राविधिहरुहरु धेरै बेरोजगार भएका छन् ।
फिल्म हलवालाहरु फिल्म चलाउन पाउनुपर्छ भन्दै सरकारसँग अनुरोध गरिरहेका यो बेलामा चलचित्र निर्माता संघले पनि आफ्नो माग अगाडी सारेको छ । कोभिड १९ बाट दर्जनौं फिल्म प्रभावमा परेको भन्दै संघले चलचित्र विकास बोर्डमा प्रभावमा परेका फिल्मको विवरण बुझाएको छ । संघले फिल्मको छायाँङ्कनका लागि सहज वातावरण मिलाईदिन र फिल्म प्रदर्शन नहुँदा परेको असरबारे बोर्डका अध्यक्ष दयाराम दाहाललाई ज्ञापन पत्रमार्फत जानकारी गराएको हो ।
निर्माता संघले फिल्म ‘पारस, २ नम्बरी सुन ,म यस्तो गीत गाउँछु २, प्रेम गीत ३’ लगायत ६३ वटा फिल्मको विवरण बोर्डमा बुझाइएको हो । यसमा छायाँङ्कनका तयारी , छायाँङ्कन भइरहेका , हलमा चल्ने तयारीमा फिल्महरु रहेका छन् ।ज्ञापनपत्र बुझाउन निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ उपाध्यक्ष उदय सुब्बा, उपाध्यक्ष माधव वाग्ले, वितरण तथा प्रदर्शन सभापति एवम् कार्यसमिति सदस्य श्री करण श्रेष्ठ, का.स. दिपेन्द्र के खनाल, ज्योतीराज राई, किसान पोखरेलका साथै निर्माता तथा अभिनेत्री रेखा थापा, निर्माता तथा निर्देशक शोभित बस्नेत, निर्देशक दीपेन्द्र लामा लगायत बोड पुगेका थिए ।
प्रभावित फिल्मको विवरण लिदैँ बोर्डका अध्यक्षले यसलाई सकारात्मक रुपमा लिएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए ।
‘बोर्डले हाम्रो मागलाई सकारात्मक रुपमा लिएको छ । बोर्ड र मन्त्रालयको छलफलपछि मात्रै यसबारेमा पुर्ण जानकारी आउने छ, ’ अध्यक्ष अधिकारी भने । चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले प्रभावमा परेका फिल्मका माग बारे बोर्डमा छलफल भइरहेको बताए । उनले भने, ‘निर्माता संघले गरेका अनुरोधलाई हामीले सकारात्मक लिएका छौँ । उहाँहरुको प्रस्तावलाई हामीले मन्त्रालयमा छलफल पनि गरेका छौँ । यसको निर्णय आउन केहि दिन लाग्ने छ । ’
प्रतिक्रिया