लकडाउन फन : प्रियंकालाई बोकेर आयुष्मानको ‘वर्कआउट’ ? (फोटोफिचर)

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले फागुन १५ गते लगनगाँठो कसे । चाहे इन्गेजमेन्ट होस् या ब्याचलर पार्टी, हरेक पललाई विशषे बनाउँदै आएको यो जोडी सायद बिहे लगत्तै हनिमुनको तयारीमा थियो ।

तर, अचानक आइपुगेको कोरोना भाइरसको सन्त्रास र लकडाउनले यो जोडीलाई पनि आम नेपालीझै घरभित्रै थुनाइदियो– सेल्फ क्वारेन्टाइनमा । तैपनि कलाकार न परे, समयको रचनात्मक सदुपयोग गर्न कसले सिकाओस् !

यो जोडीले यो लकडाउनमा अनेक गतिविधि गर्दै खुब मस्ती गर्यो । सेल्फ क्वारेन्टाइनका हरेक गतिविधि दुवैले आफ्नो इन्स्टाग्राममा खुलेरै सेयर गरे । प्रियंकाले कहिल्यै आयुष्मानको टाउको तेल मसाज गर्दै गरेको तस्बिर राखिन् भने कहिल्यै दुवै मिलेर खाना पकाउँदै गरेको । कहिले दुवैले छालाको हेरचाह भन्दै अनुहारमा फेसप्याक दलेको तस्बिर राखे भने कहिल्यै नेटफ्ल्क्सिमा फिल्म र सिरिज हेर्दै गरेको तस्बिर ।कुकुर प्रेमी यो जोडीले कहिले कुकुरसँग रमाइलो गर्दै गरेको तस्बिरसमेत सार्वजनिक गर्यो ।

यसरी यो लकडाउनमा समेत मस्तीसँग समय कटाइरहेको यो जोडीको बुधबार राति नयाँ तस्बिर सार्वजनिक भयो । प्रियंकाले आफूलाई आयुष्मानले बोक्दै गरेको ‘ह्याप्पी मुड’को तस्बिर सार्वजनिक गर्दै लेखिन्, ‘जिम बन्द छ तर नो प्रोब्लम ।’

कोरोना भाइरसको महामारीपछि अहिले देशभरका जिमखाना बन्द भएसँगै धेरैले घरभित्रै वर्कआउट थालेका छन् । आफ्नो जोडीको सहारामा यो पनि वर्कआउट गर्ने नयाँ शैली हुन सक्ने प्रियंकाको पोस्टको आशय छ । उनले अरुलाई समेत यसैगरी प्रयास गर्न सुझावसमेत दिएकी छिन् ।

उनकोे यो रमाइलो सुुझाव कतिले मान्लान्न/मान्लान्, त्यो त भन्न सकिन्न तर एउटा कुुरा, लकडाउनमा यो जोडीले गरेको फुर्सदको सदुपयोग भने साँच्चै लोभलाग्दो र प्रेमिल देखियो ।

हेर्नुस् लकडाउनमा यो जोडीले सोसियल मिडियामा सार्वजनिक गरेका केही तस्बिरहरु :