फिल्म राम्रो बन्न लगानी भन्दा सिर्जनात्मक सोच जरूरी : फिल्मकर्मी अनुप बराल

चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा शनिबार ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौती, यथार्थ र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा फिल्म निर्देशक अनुप बराल, कलाकार माओत्से गुरूङ र हल सञ्चालक निकेश द्वासँग पत्रकार अपिल त्रिपाठीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा फिल्मकर्मी अनुप बरालले कोरोना प्रभावलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् । उनले सबै भन्दा पहिला कोरोनाको डरबाट मुक्त हुनु पर्ने बताए । जब सम्म डर कम हुन्न तब सम्म फिल्म हल खुले पनि दर्शक हलमा आउने स्थिति नबन्ने र हिम्मत गरेर हल सम्म आए पनि फिल्मले दिन खोजेको विषय दर्शकले नपाउने उनको विचार छ । जसको लागि स्वास्थकर्मी हलमा राखेर हुन्छ या अरु कुनै उपाय गरेर दर्शक हल सम्म तान्नु पर्ने उनको सोच छ । अब फिल्म बन्द गरेर विकल्प नरहेको उनको भनाइ छ । फ्रिज भएको फिल्मका कारण फिल्म क्षेत्रको ठुलो रकमको घाटा विस्तारै सबैले अनुभव गर्न थालेको उनको भोगाई छ ।

उनले यो समयलाई भने आफुले आफुलाई चिन्ने समयको रुपमा लिएका रहेछन् । यहि समयको सदुपयोग गर्दै उनले २ छोटा फिल्म र एक पुस्तक तयार पारेका छन् । उनको एक फिल्म ‘दोख’ प्रदर्शनको लागि तयारी अवस्थामा रहेको पनि उनले बताएका छन् ।

फिल्म भनेको कला हो भन्दै उनले सानो लागानीमा समेत धेरै राम्रा फिल्म बन्न सक्ने तर्फ इंगित गरेका छन् । लगानी बढाउँदा प्राविधिक पक्ष बलियो बने पनि फिल्मको मुख्य ध्येय कथा वाचन र कलाको लागि पैसा भन्दा रचनात्मक सोच आवश्यक हुने बताए ।

उनले डिजिटल प्ल्याटफर्मले फिल्मको दायरा अझ फराकिलो हुने भन्दै यसको सकारात्मक पक्ष नियाल्न अनुरोध गरे । विश्वका विकसित देशहरूमा झैँ ७२ देखि ९० दिन सम्म हलमा फिल्म लगाएर डिजिटल प्ल्याटफर्ममा फिल्म देखाउन सकिने उनको तर्क छ । तर सिधै फिल्म डिजिटल फर्ममा लैजाँदा फिल्मको लगानी नउठ्ने भएकोले नेपालमा निर्माताले हिम्मत गर्न सकेका छैनन् । यसको उदाहरणका लागि उनले सुदर्शन थापाको अभिव्यक्ति अगाडि सारे ।

अँध्यारो पश्चात उज्यालो पक्कै आउने भन्दै उनले फिल्म क्षेत्र पुनः बौरिनेमा आश्वस्त देखिए । उनले नेपाली चलचित्र क्षेत्रमा परिवारवाद भन्दा पनि समूहवाद हाबी छ भन्दै बालिउड जस्तो  भने होइन भनेका छन् । बलिउडमा परिवारवाद र समूहवादको मुद्दा पहिले देखिनै पेचिलो बन्दै आएको हो । नेपालमा भर्खरै सुरुवात भएको छ । यो राम्रो कुरा होइन । यस्तो समस्याको सबै मिलेर समाधान गर्न आवश्यक छ । उनले थपे ।

उनको अर्को महत्वपूर्ण विषय फिल्म समूहमा बसेर हेर्ने कला भएको कारण जति नै प्रयास गरे पनि हलमा जस्तो घरमा थिएटर नै बनाएर हेरे पनि आनन्द प्राप्त गर्न नसकिने बताए । यसो भन्दै गर्दा उनले डिजिटल प्ल्याटफर्मलाई समेत सँगसँगै लैजानु पर्ने तर्फ जोड दिए ।