निश्चल–दीपेन्द्रको दोहोरी : जुगजुगसम्म बाँचिरहने फिल्म खोइ ?

बलिउडहुँदै नेपाली फिल्म क्षेत्रमा नेपोटिज्म अर्थात् नातावादको बहस चर्किदै गएपछि फिल्म निर्देशक दीपेन्द्र लामाले हालै आफ्नाे फेसबुकमा स्टाटस राखे, ‘नेपाली फिल्म खेलेर करोडौं पारिश्रमिक पाउने पनि होइन । फिल्म खेलेर गाडी–बंगला जोहो गर्ने नेपाली कलाकार बढीमा ३–४ जना होलान् । बाँकीलाई खर्च चलाउनै धौधौ छ । फेरि, जुगजुगसम्म बाँचिरहने फिल्म बन्ने भए पो कलाकारहरु अमर रहिरहने सम्भावना हुन्छ । त्यो हैसियत पनि नेपाली फिल्मको छैन । अनि, फिल्म लाइनको मान्छेका घरमा छोरी पनि दिँदैनन्, बुहारी पनि खोज्दैनन् । सामाजिक संजालमा हेर्नुस्, नेतापछि बढी गाली खानेमा कलाकार नै पर्छन् । अब, यस्तो क्षेत्रमा केको नेपोटिज्म, केको नेप्टोइज्म । वास्तवमा यहाँ कुनै इज्म नै छैन ।’

धेरैले उनको यो स्टाटसमा धेरै खाले प्रतिक्रिया जनाए । तर, रोचक त्यतिबेला भइदियो जब उनको कमेन्ट बक्समा निर्देशक एवम् अभिनेता निश्चल बस्नेत इन्ट्री भए । उनले कमेन्ट गरे, ‘‘जुगजुगसम्म बाँचिरहने फिल्म बन्ने भए पो कलाकारहरु अमर रहिरहने सम्भावना हुन्छ । त्यो हैसियत पनि नेपाली फिल्मको छैन’ यो चाँही भनाईमा सहमत हुन सकिएन ।’

निश्चलको असहमतिप्रति दिपेन्द्रले पुनः प्रतिक्रिया जनाइहाले, ‘कुन फिल्म छ त त्यस्तो, नाम भन्नुस् त ? नेपालको परिप्रेक्ष्यमा यतिको ठिकै हो, प्रोत्साहित गरिनैपर्छ भन्ने एकदुइटा फिल्म होलान् । संसारमा जहाँ गएर पनि नाक फुलाउनसक्ने नेपाली फिल्म बनेकै छैन । विश्वकै उत्कृष्ट १ हजारमा पर्न सक्ने सदाबहार फिल्मचाँही कम्तीमा ।’

जवाफमा निश्चलले प्रतिप्रश्न गरे, ‘‘माइतीघर’ देखि ‘छ माया छपक्कै’सम्म आइपुग्दा सबै हैसियतबिनाकै चलचित्र हो त ?’

फेरि दीपेन्द्रले नेपालको सन्दर्भमा राम्रै हो भनेर चित्त बुझाउनुपर्ने भन्दै जवाफ फर्काए । त्यसपछि ‘घामपानी’, ‘गोपी’ र ‘छ माया छपक्कै’ फिल्म निर्देशन गरिसकेकका दीपेन्द्रलाई निश्चलले व्यंग्यमिश्रित प्रश्न गरे, ‘तपाईचाँही तपाईले भनेकोजस्तो चलचित्र बनाउने कि नबनाउने त दाई ? नेपालको लागि ठिकै हो भन्न नपर्ने खालको ?

दीपेन्द्रले जवाफ फर्काए, ‘मसँग त्यस्तो फिल्म बनाउने सामर्थ्य छैन ।’

उनीहरूको यो फेसबुक दोहोरीमा अन्य थुप्रै प्रशंसकको समेत प्रवेश भएको थियो । हुँदाहुँदा ‘चपलीहाइट’ का निर्माता अर्जुन कुमार दीपेन्द्रकै मतसँग सहमती जनाउँदै, अनि लेखे, ‘हो, हैसियत भएका चलचित्र नेपालमा बनेको छैन । एनि हाऊ, दर्शक झुक्याऊ हो ।’

यही दोहोरीका बीचमा ढुंगाना रविनले निश्चललाई कडा आरोप लगाए, ‘निश्चल सरलाई आफ्नो हलिउडबाट कपी गरिएको ‘लुट’ भन्ने फिल्म जुगजुगसम्म बाँचिरहने फिल्म लाग्छ होला । नत्र नेपालमा जुगजुग बाच्ने फिल्म साच्चै नै छैन । बरु महजोडीको टेलिफिल्म र केही लेखकहरुको किताब जुगजुग बाँच्ने होलान् कि भनुम् त्यो पनि हो, हैन म भन्न सक्दिनँ । तर, फिल्म पक्कै छैन ।’

सायद निश्चललाई निकै रिस उठेछ, प्रशंसकको यो प्रतिक्रियाप्रति कडा चुनातीसहित जवाफ फर्काइहाले, ‘कुन फिल्मबाट चोरेको प्रमाणित गर्नुस्, यो पेशा नै छोडिदिन्छु । हैन भने हचुवा भरमा ठूलो कुरा नगरम हजुर । र, अर्को कुरा फिल्म राम्रो बनाउन बजेट सेट चाँहिदैन । मौका पायो भन्दैमा प्याच्च के भन्दैछु भन्ने पनि हेक्का राखेको राम्रो हुन्छ ।’
र, यसरी ‘युगयुगसम्म बाँचिरहने फिल्म’ लाई लिएर सुरु भएको दोहोरी अन्ततः निश्चलप्रति आरोपमा पुगेर टुंगियो । तर, फेरि पनि प्रश्न त उठ्यो, ‘के नेपालमा युगयुगसम्म बाँचिरहने फिल्म बनेको छैन त ? ’