बहिनीकी साथी
म १५-१६ अनि उ त्यस्तै १४-१५ कि हुँदी हो । सहपाठी, पढाइमा “तपाईं मभन्दा जान्ने” भन्थी मलाई, सायद उसको बिषय ईतिहास अनि मेरो अप्सनल म्याथ्स भएर होला । बोलीचाली, हिंडाइ, हँसाइ, क्रोध, मजाक सबै मन पर्थ्यो दुबैजनालाई । मिनेट मिनेटको चासो र जानकारी रहन्थ्यो । कय्यौंपटक गाउँटोलका तिर्थाटन र पिकनिक गइयो, त्यहाँ अरुको आँखा छलेर आँख मिचौली गर्नुको मजा आह्हा ! तर खुलेर कहिल्यै आई लभ यु भनिएन जसको कारण थियो आ-आफ्नो आर्थिक र सामाजिक हैसियत । कहाँ उ काठमाण्डुकी सम्पन्न घरकी छोरी कहाँ म गाउँको कुनामा किसानको छोरो भएर जन्मिएको निरीह प्राणी । हुन त त्यतिबेलाको काँचो बुद्धिले आइ लभ यु भन्नु बिहे गर्नुबराबर पनि ठान्यो होला । त्योबेला उमेर त हाम्रालागी तपशिलको बात थियो । अहिले पनि थाहा छैन, त्यो बेलाको हामिबिचको आत्मीयता जुन प्रेमी भनिहाल्न पनि नि नमिल्ने, साथीभन्दा अलि माथीको सम्बन्धलाई के भन्छन कुन्नी ?
****
खासमा ऊ मेरी बैनी(काकाकी छोरी)की साथी थिई । बैनीकै डेरामा हाम्रो देखादेख भएको थियो । हप्ता पन्द्रदिनमा भेट हुन्थ्यो हाम्रो । उसका बाउ सरकारी कर्मचारी भएकाले ऊ सदरमुकामको स्कूलमा पढ्ने, म गाउँकै स्कुलमा । कहिले उ मेरा गाउँ आउँथी कहिले म सदरमुकाम जान्थें, हिंड्ने बहाना हाम्रा रेडिमेड हुन्थे । प्राय: उ साथीको घर जान्छु भनेर बैनीसँग गाउँ आउथी अनि म कापी कलम किन्ने बहानामा सदरमुकाम जान्थें । एकपटक त किन्न बिर्सेछ, बहाना प्रमाणित गर्न नसक्दा झण्डै झण्डै बाउको गोदाई खाइएन । धन्न साउनको दिन थियो, मरीण खोलाले झण्डै आफूलाई समेत बगाएन भन्ने उप बहाना बनाएर बाँचियो ।शुरु शुरुमा म बैनीलाई अबोध ठान्थें, यसले केही बुझ्दिन भन्ने लाग्थ्यो, तर जब उसैले हाम्रो भेट्ने साइत जुराइदिन थाली अनि लाग्यो त्यतिबेलाको हाम्रो घनिष्टताको नाम जे भएपनी बैनीले बिस्तारै हाम्रो निकटतालाई “लब्परेको” बुझिसकेकी थिई । उ जतिबेला पनि परिस्थिती अनुकुल बनाइदिन थालेकी थिई । थाहा छैन् , बैनीले मलाई त्यो बेला सहयोग गरेकी थिई, हौस्याएकी थिई या उक्साएकी थिई ?
****
भोलि हाम्रो सम्बन्ध सार्वजनिक होला, दुई परिबारको कुरा गराएर हामी बिहे गरौंला, राजकुमार राजकुमारीजस्ता सन्तान होलान् जस्ता कुराहरु हाम्रा लागी दूरकी बात थियो । सँगै बसेर गफ र मस्कामस्की गर्नुनै हाम्रो अन्तिम लक्ष थियो । त्यहाँ न अतितको पश्चाताप, न भविष्यको सपना थियो न त थियो भौतिक प्राप्तिको चिन्ता । थियो त फगत बर्तमानको खुशी जुन आपसी आँख मिचौलीमै पाइन्थ्यो । कहिलेकाहिँ हाम्रो तिकडमबाजि फेल भएर नियमित भेटघाट टुक्रिन्थ्यो, भेटघाट के टुक्रिन्थ्यो ? त्यतिबेला दिल टुक्रिन्थ्यो चिरा चिरा परेर । त्यही दिल टुक्राईकै बेला हामीले लब्लेटर जन्मायौं । लब्लेटर पनि यति जन्मायौं कि भेट नहुँदा हरेक दिन लेख्थ्यौं, पोको पारेर राख्थ्यौं अनि हुलाकीका लागि शुक्रबार कुरेर बस्थ्यौं । हुलाकी थिइ उही बैनी, जो शुक्रबार गाउँ आउँथी आइतबार सदरमुकाम फर्कन्थी । उसैले लब्लेटर ल्याउने लग्ने गरिदिन्थी । मेरी बैनी सारै सहयोगी थिइ । उ आउँदा कहिलेकाहिँ चकलेट पनि ल्याउँथी दिदीको कोशेली भन्दै । म चकलेट डबल मिठास लिएर चपाउँदै लब्लेटर पढ्न चौतारोतिर दौडन्थें । अहिले लाग्छ चोरले आफ्नो खुट्टो तानेझैं म आफूलाई अभियुक्त नै ठान्थें नत्र त्यो लब्लेटर किताब कापीको च्यापमा राखेर घरमै पढेको भएपनी कसले के गर्थ्यो र ?
सम्झँदा अचम्म लाग्छ, जति गफ यो उमेरमा पनि आउँदैन, त्यो बेला सात सातवटा लब्लेटरमा के पो लेखिन्थ्यो होला ? जुन हेर्न चाहेर पनि अहिले हेर्न सक्दिन । राख्न त गाउँमा पढुन्जेल सबै जोगाएर राखेको थिएँ, पछि घर सफा गर्दा हराएछन ।
****
आपसमा माया नै माया भएपनी, जति नै लब्लेटर लेखिए पनि हामी दुबैले कहिल्यै शब्दमा प्यारा -प्यारी या प्रिय शब्द लेखेनौं न त सँगै बाँच्ने मर्ने कसम खायौं, हुनसक्छ त्यो बेला हाम्रो हुत्तिले भ्याएन । बरु औकातले भ्याएसम्म साइरी (सायरी/मुक्तक) लेख्थ्यौं माया जताएर । साइरी त हामी हिरो हिरोनीको फोटोवाला पोष्टकार्डमा पनि लेखेर साटासाट गर्थ्यौं ।
त्योबेला हामीले मोटो डायरीमा फोटोसहित सिंगारेको अटो पनि बनाएका थियौं । सायद खोजेंभने घरको कुनै सन्दुकमा अझै अवशेष पाउँछु पनि होला । धेरैजनाले हेर्ने भएकाले त्यसमा हामीले औपचारिक शब्दहरु मात्रै लेखेका थियौं । लाग्न त त्यो बेला पनि लाग्थ्यो मान्छे नै अटोको पन्नामा टाँसौं ।
सँधैझैं एउटा शुक्रबार उ आई बैनीसँग मेरा लागि बहार लिएर । राती खाना खाने बेलामा सबैको अघिल्तिर बैनीले भनी “दाजु ! भोलि हामीसँग साथी हिंड्नु ल, हामी पञ्चपोखरी जाने भनेको, दिदीलाई पोखरी हेर्न मन छ रे।” खासमा उसले मलाइ सोधेझैं गरेर बाबासँग अनुमती माग्दै थिई । म बाबाको प्रतिकृया नसुन्दै पर्नेजती मख्ख परिसकेको थिएँ । बाबा बोल्नुभो “को को जाने ? जाओ न त, चाँडै जानू चाँडै फर्किनु ।” अरे वाह ! क्या दिलदार बाऊ ? अनि ममा आँट थपियो र भनें “खै, भोलि शनिबार हो, रोशे बिनये पनि जान्छन् होला । बिहानै सोध्नुपर्छ ।” भोलीको उसँगको सहयात्राको कल्पनाले मलाई रातभरी सुत्न दिएन ।
****
बिहान घरबाट निस्केर गाउँको ओर्हालो नआइपुग्दै उसले मेरो हात समातेकी थिइ । शहरमा हुर्केकी केटी ढुङ्गामाटोको गोरेटो बाटोमा हिंड्न गार्हो भएको हुँदो हो । मलाई भने उसले पहिलोपटक हात समाउँदा ४४० भोल्टको करेण्ट करेन्ट लागेझैं भएको थियो । मुटु चुँडिएर किल्किलेमा आएझैं भा’थ्यो । सायद मलाई त्यो करेण्ट पनि उसको स्पर्शले भन्दा साथीहरुले बिचार गर्ने हुन् कि भन्ने डरले लागेको थियो ।
****
घर फर्किने समय बाँकी राखेर दिन कटाइयो, भएको चिनी चिउरा र बिस्कुट घुम्दाघुम्दै खाइसकेका थियौं । फर्किने बेला माझिगाउँको एउटा घरमा बसेर काँचो मेवा र निबुवा नुन खुर्सानीमा चोपेर खायौं । खुर्सानी अलि बढी नै भएछ क्यार उ रातो पिरो भइ । सायद बानी नभएकी उसको मुखमा मैले हत्केलाले हम्केर पानी पिउन दिएँ, उसलाई शित्तल भयो, मैले त्यही ठानें । दिनभरी उसले मेरो पाखुराको साथ छोडिन । साथ नछोड्नु, मैले थुतुनो हम्किनु, जिस्किंदा उसले प्याट्ट प्याट्ट मलाई मायाले हिर्काइरहनु यावत नौटंकी देखेर होला सबै साथीहरु फर्किने बेलासम्म हाम्रो लब्परेको एकिन गरिसकेका थिए । फर्किंदा बाटोमा मलाई साथीहरुले जिस्क्याउँदै “कान्छाको ल ल, छ छ” भनेको सम्झिंदा अझै काउकुती लागेझैं हुन्छ ।
हामी सगैं एसएलसी दिनेवाला थियौं फरक स्कुलबाट । टेस्ट परीक्षा सकियो । उसको स्कुलमा कोचिङ्ग क्लास हुने भो हाम्रो स्कुलमा थिएन । उ पढ्ने स्कुलमा मेरो साथी पर्दिपे पनि पढ्थ्यो सदरमुकामको डेरामा बसेर । त्यतिन्जेल पर्दिपे पनि हाम्रो लब्लेटर ओसार्ने अघोषित हुलाकी नियुक्त भइसक्या’थ्यो । उसले थप सहयोग गर्ने भएपछी घरमा अनेक तिकडम अपनाएर उसैसँग बसेर कोचिङ्ग पढ्ने अनुमती लिइछाडें । वाह ! अब त मेरो दिनदिनै भेट हुने भो । पर्दिपेप्रती म धन्य भएँ ।
म पर्दिपेसँग मिसिएँ । त्यो बेला पर्दिपे मेरालागी मेसेन्जर भयो । के मजा आउँथ्यो कुन्नी ? सानो खवर पुर्याउन पनि दौडिहाल्थ्यो । म प्रत्युत्तरको पर्खाइमा पुलकित भएर बस्थें । जहिले पर्दिपे फर्किन्थ्यो, मिठै खवर लिएर फर्किन्थ्यो । या भनौं मलाई सबै मीठो लाग्थ्यो दिनभरीलाई उर्जा दिने। हाम्रो (पर्दिपेको) डेराबाट उसको डेरामा पुग्न साधारणतया त्यस्तै १०-१५ मिनेट लाग्थ्यो तर पर्दिपे भने १५ मिनेटमा पुगेर फर्किसक्थ्यो । एकदिन पर्दिपेले ताउकागज (फूलस्केप) ले बेरेको जिनिस ल्याएर उसले पठाइदे’कि भन्दै मेरो हातमा थमायो । मोटो निलो डिलक्स डायरी रहेछ जसलाई मैले पछिसम्म अटो बनाएर राखेको थिएँ । त्यो डायरी भेट्दा म अहिले ब्राण्डेड आइप्याड भेटेजत्तिकै खुशी भा’को थिएँ हुँला । भोलीपल्ट स्कुलमा श्टेशनरीवाला साथी संजय जो मलाई दाइ सम्बोधन गर्थ्यो, उसले “दाइ डायरी पाउनु’भो ?” भनेर सोध्दा म लाजले भुतुक्क भा’को थिएँ ।
****
जति छिटो एसएलसी परीक्षा सकिंदै थियो, त्योभन्दा सयगुना छिटो मुटु धड्किन थालेको थियो । अब हाम्रो छुट्टिने दिन धेरै टाढा थिएन । अन्तिम परीक्षा हुनुभन्दा अघिल्लो दिन छुट्टी (ग्याप भन्थ्यौं) थियो । हामी म, उ, बैनी र पर्दिपे कमलामाई दर्शनको बहानामा माइस्थान गयौं सँगै दिन बिताउने नियतले । म मन्दिरमा मन्मनै गिड्गिडाएँ कहिल्यै टाढा हुनु नपरोस् भनेर तर कसम खाइनँ, सायद कसम तोडियो भने ठहरै भइन्छ भन्ने डर हुँदो हो त्यतिबेला । उसले के मागी या मागिन या कसम खाई या खाइन ? कहिल्यै भनिनँ । उसको बुवाको सरुवा नहुन्जेल हामीले एकआपसमा भेटिरहने र मौका मिल्नासाथ म पनि काठमाडौ गएर भेट्ने बाचा गर्यौं ।
•••••••
प्रतिक्रिया