शनिबारको विरोध प्रदर्शनमा निशा अधिकारी र शिशन बानिया सहभागी नहुने

कोरोना महामारी नियन्त्रणमा सरकारको असक्षमताको विरोध स्वरुप शनिबार गरिने भनिएको प्रदर्शनमा अभिनेत्री निशा अधिकारी र भ्लगर शिशन बानिया सहभागी नहुने भएका छन् ।

प्रदर्शनमा सहभागी हुने नहुने निर्णय व्यक्तिगत हुने भन्दै उनले निशा अधिकारीले आफु शनिबारको शान्तिपूर्ण प्रदर्शनमा सहभागी नहुने जानकारी आफ्नो आधिकारिक फेसबुक मार्फत दिएकी हुन् । उनले शनिबार घरमै बसेर ऐतिहासिक क्षणलाई स्वागत गर्ने बताएकी छिन् । शनिबार दिउसो सरकारले लिपुलेक, लिम्पियाधुरा सहितको निसानछाप पारित गर्ने कार्यतालिका तय गरेको छ ।

निशाले आफुले आफ्नै तरिकाले विरोध गर्ने भन्दै अब आफुहरुले विरोध कार्यक्रम गर्दा अझ सुरक्षित र बैकल्पिक तरिकाहरु खोज्नु पर्ने लेखेकी छिन् ।

त्यस्तै भ्लगर शिशन बानिया पनि शनिबार माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुने छैनन् । उनले धेरै मानिसहरु एकै ठाउँमा जम्मा हुँदा नानाथरि नाराहरु लगाइने रैछ भन्दै त्यस्ता क्रियाकलापले कसैलाई पनि राम्रो नहुने बताए । उनले एक भिडियो पोष्ट गर्दै यस्तो प्रदर्शनमा सरकार ढलाउन खोज्ने राजनीतिक पार्टीका मान्छेहरु स्वार्थ सहित प्रवेश गर्न सक्ने आशंका पनि ब्यक्त गरेका छन् ।

सरकारले आफ्नो मागहरु सुनेको र बिस्तारै कामहरु पनि गरिरहेको भन्दै सरकारलाई आफुहरुले केहि समय दिनु पर्ने धारणा उनले राखेका छन् । उनले अहिलेको सबै भन्दा ठुलो शत्रु कोरोना भाइरस भएको भन्दै ५-१० हजार मानिस एकैठाउँमा जम्मा हुँदा संक्रमणको खतरा अत्याधिक रुपले बढ्न सक्ने धारणा राखेका छन् ।  त्यस्तै उनले जसरि पनि सहभागी हुन्छु भन्नेहरुलाई सामाजिक दुरी कायम राख्न र सुरक्षित रहन आग्रह पनि  गरेका छन् ।