मीतज्युको घरमा पाँचदिन (शस्मरण)


चार कक्षामा पढ्थें । बर्खे बिदा भोलीदेखी शुरु हुनेवाला थियो । खै, किन हो एकाबिहानै मलाई मितज्यूकोमा जाने रहर पलायो । आमालाई भनें “आमा, आज म मितकोमा जान्छु, सिउने लुगा ठिक पार्दिनु ।” आमाले पोको पार्देको नयाँ पुरानो लुगाको पोकोमा आफ्नो एउटा कट्टु र गञ्जी (तेर्सो धर्के नाइलनको) पनि मिसाएँ । भात खाएर लुगाको पोको र किताब बोकेर स्कुल गएँ । त्यो दिन पढाइमा पनि खासै मन लागेन । स्कुल पुग्नेबित्तिकै मितज्यूलाई भनिसकेको थिएँ । मीतज्यू सँधैझैं फुरुङ्ग भए । हामीले टिफिनमै भाग्ने र स्कुलको बाँकी समय पौडी खेलेर बिताउने अनि पाँचबजेतिर घरमा पुग्ने सल्लाह गर् यौं । मैले स्कुलमै माइल्दाईलाई “म मितज्यूकाँ जान्छु, भोलि बेल्का मात्रै आउँछु, आमालाई भन्दे ।” भनेर खवर छोडें । काजीदाईले टिफिनको घण्टी पूरा ठोक्न नपाउँदै मितज्यू र म स्कुल छेउको खोल्सो कटिसकेका थियौं । बेलुका साँढे ४ बजेसम्म खोला खेल्यौं र ५ बजेतिर मितज्यूको घर पुग्यौं ।

गोरे दमै, हाम्रो खलकैले बालीमा कमाको लुगा सिउने मान्छे । जहान छोराछोरी हेरेर बर्षमा मुरी पच्चीस पाथी धान दिएपछी बर्षभरी नयाँ पुराना लुगा सिउने गोरे दमै मेरा मितबाउ । उनका जेठो छोरासँग सार्है मिल्ने भएकाले लुगा सिउन आउँदा २-३ बर्षकै उमेरमा मेरी आमाले मीत लगाइदिनु भा’को रे तर मलाई याद भएन । दुबैलाई सानदेखी सबैकुरा बाँडेर खानुपर्थ्यो रे । आमा भन्नुहुन्छ “मितज्यूलाई पनि आमाबुबु ख्वाइदिनु भन्थिस ।”

अहिले पनि याद छ, मितज्यूकहाँ पुग्ने बित्तिकै मितामा (मीत आमा) ले “ए मित्छोरो पनि आएछ्न, घरमा भनेर त आ’को होला नि ?” भनेर कन्फरमेशन लिन खोजिन् । मैले “अ” भनेर टुङ्ग्याएँ । मितामाले पनि हामी दुबैलाई एउटै बटुकोमा मोही चिउरा र सख्खर हाली “लु खाओ, तिमार्लाई एकैठाउँ खानुपर्छ” भन्दै खाजा दिइन् । स्कुल र खोला खेलेर भोकाएका हामी दुइले एकै सासमा मोहिचिउरा सक्यौं ।

त्यो पटक मित्बाले “छुट्टी भै’गो मित्छोरा अब सिएको लुगा लिएर मात्रै जानू, बरु म घरमा खवर गर्दिउँला” भनेपछी मैले मितज्यूको घरमा ५ दिन बिताएँ । खोला, जङ्गल, रोपाइँ र घरछेउकै खोल्सामा खेल्दाखेल्दै मैले आफ्नो घरै बिर्सिएको थिएँ। घरमा मीत आ’कोले दिनभरी मितज्यूलाई पनि कामबाट फुर्सदै दिइएको थियो । त्यसैले दिनभरी खेल्न पाइन्थ्यो । मितामाले मित्छोरो भनेर माया गरेकै थिइन् भा’को मीठो मसिनो खान दिएकै थिइन् । त्यो बेला हाम्रो घरतिर माघे र साउने संङ्ग्राती अनि दशैंमा मात्रै मासु खा’को याद छ मलाई । मितज्युकोमा भने पाँचैदिन मासु टुटेन । तर केको मासु खाएँ ? मलाई ऐलेपनी एक्किन छैन् ।

छैठौंदिन मितज्यू र मित्दिदी स्कुलसम्म पुर् याउन आए । म लुगा र मितामाले कोसेली हाल्देको चारवटा काउलीकटहर (भुइँकटहर) को पोको बोकेर उकालो लागें । जब स्कुल छोडेर उकालो लागें, तब मलाई घरबाट हिंडेको दिनदेखिको टेन्सन शुरु भो । टिफिनमै भागेर दमै मितकोमा गाको था पाए भने गोबिन्द सरले के गर्लान ? थाहै नदिकन गा’को देखेपछी बाबाले के गर्नुहोला ? दमैको घरमा पाँच पाँचदिन बसेर आ’को थाहा पाएपछि हजुर्बाले के गर्नुहोला ? आदि इत्यादी….!

*****

डराइ डराइ डहरको तगारोसम्म आइपुगें । झ्वास्सै बाबाको अघिल्तिर पर्ने आँटै आएन । भकारो सोहोर्दै गर्दा आमाले देख्नुभएछ र भन्नुभो “आइज, आइज ! बाबा खेत जानू’भा छ ।” युद्ध जितेजत्तिकै भो । घरमा पसेपछी माइल्दाईले फेरि तर्सायो “भरे बाबालाई आउन दे’न, अनि था पाउँछस, तल्लो घर गईस भने त हजुर्बाले दोबाटाँ लगेर तेरो पूजा गर्नुहुन्छ ।” म नसकी नसकी आवाज ननिकाली रुन थालें । आमाले सम्झाउनु भो “नरो, दाजुले तेत्तिकै तँलाई डरादे’को, बाबालाई मैले भन्दिसक्या (सम्झाइसक्या) छु, हजुरबाको छेऊमा दुइचार दिन पर्दै न पर न, बिर्सिहाल्नुहुन्छ नि।” म ढुक्क भएँ। बाबाको बाँकी रिस मार्न किताब फिंजाएर दिनभरी थप्रेङ्गमा बसिरहें । साँझ कोदाली बोकेर बाबा घर आउनुभो र मलाई देख्नेबित्तिकै “स्वाँठको सवारी भएछ त, बर्खाभरी उहीँ बस्याभा हुन्थ्यो नि” भन्नुभो । मैले बाबाको रिसको पारो आँकलन गर्दै मौन जवाफ फर्काएँ । बाबाको छेउमै गएर आमा बिस्तारै फुस्फुसाउनु भो “नकराउनु, बरा डरले थुर्थुर छ।” मैले यौटा युद्ध जितें । संसारकी सबैभन्दा माया गर्ने आमा त्यहिदिन अनुभव गर्न पाएँ ।

मेरो दुर्भाग्य, भोलिपल्टै मुलघर (हजुरबा बस्ने घर) मा सराद्द परेछ । मैले कुनैपनी मूल्य चुकाएर हजुरबासँग आँखा जुधाउनुपर्ने भो । नजाउँ भनेपनी केरा, दहि, खीर र आलु केराऊको अचार कसरी बिर्सिनु ? फेरि कुन बहानाले नजानु ?

जेसुकै होस् आमा त त्यहिं हुनुहुन्छ नि, हजुरबाले कराएपनि चुपो लागेर बस्छु, कुटिहाल्नुहुन्न होला त, फेरि बाबाको पनि रिस मरिसक्या छ, निम्तालुका अघिल्तिर कुटाइ खान त पक्कै दिनुहुन्न भन्ने लाग्यो र झरें मुलघरतिर । पुग्नु के थ्यो र, दलानमै धोती फेर्दै गर्नु’भा हजुरबाले झम्टिहाल्नु भो “ऐ भान्से हो, यो प्रेमको कान्छो छोरोलाई भान्सामा छोइछाइ गर्न नदेओ है, यो दस गाउँ डुलेर आको छ, के भर यस्ता कुजातको ?” मेरा खुट्टा लालाकलुलुक हुँदैथिए बाबाको बोलीले बैशाखीकै काम गरे, “होइन बाबा, एल्ले हामीलाई पनि ढाँट्या र’छ, मितकोमा जान्छु भनेर दछ्छिना बटुल्न मावल गा’को र’छ, बटुलेछ, १५ रुपियाँ ल्याएर आमालाई राख्न दि’रछ ।” हजुरबा प्रतिप्रश्न नगरिकनै चुप लाग्नु भो । म फुकेको राँगो जत्तिकै भएँ । संसारको सबैभन्दा असल बाऊ त्यहिदिन आफ्नै ठानें ।

*****

भदौ १ गते स्कुल खुल्यो । कक्षा शुरु हुनुअघी प्रार्थना गर्दै थियौं आँखा चिम्लेर- श्रीमान गम्भीर प्रचण्ड प्रतापी भूपति…..।

“तिम्लाई हेड्सले अपिसमा बोलाउनु भाको छ” काजीदाई कानमा फुस्फुसाए । हे भगवान ! के आइलाग्यो यो ? छुट्टी हुने दिन जाबो तीन घण्टी छोडेर भागेको पनि कुनचैंले पोल लाइदेच, अब पिंडुला सेकिने भो ।

सुकेनास पिंडुला कमाउदै अफिसको ढोकामा पुगें । हेडसरले ढोकामै उभिन भने र अनपेक्षित स्पष्टीकरण सोध्न थाले “त पुरेतको नाति भैखाँदो, बुढी बाख्री र सुँगुरको मासुका लोभले दमैका घरमा गएर पाँच पाँच दिन बस्ने ? तेरो हजुरबाउलाई अब हामीले कसरी पुरेत मान्नु ?”

मेरो कान्छो हजुरबा तिनताका अड्कोपड्को टारिदिने काम गर्नुहुन्थ्यो त्यो पनि इच्छा लागेका जजमानकोमा मात्रै । अलि हठी स्वभावका बुढा चित्त नबुझे “तेरो काम तँ आफैं गर” भनेर पनि हिंडिदिने ।

मेरो वास्तविक उत्तर नभएपनि हेडसरले आफ्नै प्रश्नमा जवाफ मिसाएका थिए । म लोभैले मितज्यूकोमा गएपनी उनले हजुरबालाई पुरेत मान्न कागजै गराइएको त थिएन होला । म चुप लागेर उनको हप्किदप्की सुनिरहें, उनी सुनाइरहे । सजाय भोग्नु त छँदैथ्यो तर मलाई भने बाउले समेत वास्ता नगरेको यो बिषयको पोल हेडसरलाई लगाइदिने छुसीआत्मा कुन चैं रैछ ? त्यो जान्न मन थ्यो तर बुडाले ज्यान जाला कुरो फुस्काएनन । मेरो जवाफ केही नदिएपछी अन्त्यमा बीसचोटी कान समातेर उठबस गरेपछी म कक्षाकोठातिर लागें । अपिसदेखिनै पछ्याइरहेको प्रश्नले भने छोडेन “हेड्सरलाई म मितज्यूकोमा गा’को कसले भन्देछ ?”

कक्षाकोठाको ढोकामा पुग्नै लाग्दा एउटा सँगै पढ्ने साथीले भन्यो “भेटिस ? कस्तो हुँदोरै’छ ?”

भएको के र’छ भने, बर्खेछुट्टिमा हेड्सर कुटो कोदालो अर्जाप्न भनेर त्यो साथीकोमा ग’का रैछन । त्यो साथीको बाउ चाहिँ हाम्रो गाउँ छिमेकले बालीमा कमा’को एकमुरी धानमा बर्षभरी हतियारको काम गर्ने मान्छे । हेड्सरसँगको कुरै कुरामा पुरेतको नाति मितकोमा गा’को कुरो पुगेको रैछ । छोराले बाउलाई, बाउले हेड्सरलाई हुँदै मेरो अपराध अपिसको ढोकासम्म आइपुगेको रहेछ ।

सायद बाल्यकालको त्यो अमीट छाप मेटिन नसकेर होला मान्छेले जन्माएको यो बिखण्डन र मानसिकता कथित मास्लो जात र तल्लो जातमा मात्रै भन्दापनि म त्यही तल्लो भनिने जातबिच पनि अझ ब्याप्त देख्दैछु जसले गर्दा पुरेतको नातिले बीसचोटी कान समाएर उठबस गर्नुपर् यो । मलाई लाग्छ जातिय मुद्दा त सङ्कीर्ण मानसिकताको उपज मात्रै हो । हैन भने महिलाको तल्लो र माथिल्लो पेट जस्तो जात तल्लो या माथिल्लो हुन्न । मलाई लाग्दैन मास्लो जात भनिएकाहरु मास्लो पेटबाट तल्लो जात भनिएकाहरु तल्लो पेटबाट जन्मिएका हुन् ।