विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त

बिहिबार बसेको मन्त्रि परिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाललाई नियुक्त गरेको छ । लामो समय देखि नेपाली फिल्म उद्योगमा सक्रिय दाहाल २ वर्षे कार्यकालका लागि अध्यक्षमा छनोट भएका हुन् ।

गत बिहिबार पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेश थापाको नाम सिफारिस गरेको थियो । आवेदन दिने जम्मा १० जना मध्येबाट मन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको थियो ।

नियुक्तिवारे दाहालसंग बुझ्दा आफुले औपचारीक जानकारी नपाएको तर समाचारहरुबाट र अनौपचारीक जानकारी मात्रै पाएको वताए ।

अघिल्लो वर्षको मंसिर २९ गते अध्यक्ष केशव भट्टराईको निधन भएपछि उक्त पद खाली भएको थियो । पद खाली भएको लगभग ६ महिना पछि मन्त्रालयले आवेदन माग गरेको थियो । अध्यक्ष पदको लागि भुवन केसी, दयाराम दाहाल, राजेश थापा, भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले आवेदन दिएका थिए ।