सेक्स ‘ट्याबु’ होइन – कलाकार ऋचा शर्मा


पछिल्लो समय केही नायिकाहरुको समूहले ‘शुन्य सहनशीलता’ ह्यासट्याग राखेर कुराकानी गर्न थालेका छन् । नायिका निशा अधिकारी एडमिन रहेको एक गोप्य समूह बनाएर उनीहरु हिंशाको विशयमा आवाज उठाउन लागि परेका छन् । यसैबीच निशा अधिकारीसंग लाइभ आएर कुराकानी गर्ने क्रममा अर्की नायिका ऋचा शर्मालाई निशाले ‘सेक्स’ को विषयमा प्रस्न सोधेकी थिइन् । यो विषयलाई ऋषि धमलाको प्रस्न सोध्ने सैलीसंग जोडेर चर्चा गरिएको थियो । लामो समय यता अश्लिल प्रस्न सोधेको भन्दै नायिकाको समूहले नै धमलाको कार्यक्रम बहिस्कार गरेका थिए । यो विषयमा भएको व्याख्या ऋचा शर्मालाई चित्त बुजेन छ । यसैलाई स्पस्ट पार्दै उनले शुभचिन्तक दर्शकको लागि भनेर आफ्नो बिचार सार्वजनिक गरेकी छन् ।
हेरौ उनको विचार उनकै शब्दमा :

केही दिनयता म र मेरा सहकर्मीहरूले #Zerotolerance अभियानमा अभिव्यक्त गरिरहेका विचार, मेरा साथीभाइसँगको रमाइलो भिडियो वार्ताका क्रममा सेक्सको बुझाइ र सोचबारे चर्चा भएको विषयलाई लिएर मलाइ मेरा दर्शक र शुभेक्षकले जिज्ञासा राख्नु भएको र ति रमाइला भिडीयोको बारे भएका टिका टिप्पणीले दुखी हुनु भएको रहेछ। मेरो यो टिप्पणी त्यही विषयमा केन्द्रित छ ।
 
आजको युगमा सेक्स भन्ने शब्द ‘ट्याबु’ होइन । त्यसबारे बोल्नु र छलफल गर्नुलाई ‘अश्लीलता’को चश्माले हेर्नु पुरातन सोचको प्रतीक हो । त्यस्ता केही बुझाइलाईमात्र सर्वोपरि मान्ने हो भने विद्यालयस्तरीय पाठ्यक्रममा यौनशिक्षा राखेर राज्यले ‘पाप’ गरेको हुनेछ ।
 
सेक्सबारे कहाँ बोल्ने, कोसँग बोल्ने र कुन सन्दर्भमा बोल्ने विषयमा हामी सबैले समीक्षा गर्न जरूरी छ। ‘सेक्सको बारेमा तपाईंको धारणा के छ ?’ अथवा ‘तपाईंको लागि यौनजीवन कत्तिको महत्वपूर्ण छ ?’ जस्ता प्रश्न यौनशिक्षाको परिधीमा बाँधिएका हुन्छन् । तर, चिच्याई-चिच्याई ‘को-कोसँग गर्नुभयो ?’, ‘फलानोसँग पनि गर्नुभयो ?’ कति पटक गर्नु भयो??? कसरी कसरी गर्नुभयो????भनेर दबाब दिन सज्जन र चेतनशील मानिसले सक्दैन । यस्ता प्रश्नहरू ब्यक्तिगत स्वतन्त्रता र निजत्वका बाधक हुन् । सचेत मानिसहरू अरुको दैलोमा आँखा जोतेर भित्रको संसार चियाउँदैनन् ।
 
सेक्सको विषयमा आफूलाई सहज लाग्ने र विश्वासिला साथीभाइ/माहोलबीच बोल्नु मेरो नितान्त व्यक्तिगत स्वतन्त्रता र अधिकार हो । यस्तो विषयमा औंला उठाउने ‘समाजसुधारकहरू’ रहँदासम्म यौनशिक्षा सधैं बर्जित रहिरहन्छ ।
 
यति भनिरहँदा म खुशी पनि छु मेरा दर्शक मेरो बिषयमा हुने टिप्पणीलाई लिएर यती सजग हुनुहुन्छ र मलाइ सो बिषयमा बोल्न प्रेरित गर्नुहुन्छ। यहॉकै मायाले म रिचा शर्मा एक कलाकार भएकी हुं र यो सब मैले मेरो स्पष्टीकरणको रूपमा लेखेकी होइन मात्र मेरा प्यारा दर्शकको जिग्यासा मेटाउने प्रयास गरेको हु र एउटी नायिकाको हैसियतले र #ZeroTolerance अभियानको सम्मानका खातिर मन पोलेको कुरा साटेकी हुँ ।