मनिषा कोइराला र सरकारको समर्थनमा अभिनेता हमाल

अभिनेता राजेश हमाल पछिल्लो समय सामाजिक संजालमा सक्रिय देखिए पनि समसामयिक विषयमा भने चुप नै रहन्छन् । दर्शकको अपेक्षा विपरित उनी त्यति सजिलै कुनै विषयमा आफ्नो विचार राख्दैनन् । बौद्धिक कलाकारको छवी बनाएका उनले पछिल्लो समय भने मुख खोलेका छन् । भारतमा अभिनय गर्दै आएकी नेपाली मनिषा कोइरालाको एउटा ट्विटले चर्चा पाएको छ, बिगत केही दिन यता । हो, यहि विषयमा हमालले मुख खोलेका छन् ।

नेपालको नया नक्साको विषयमा बोलेकै कारण कोइरालाको खेदो खन्न लागि परेका छन् भारतीय संचारमाध्यम । लिपुलेक नेपाली भूभागमा पर्ने, तर भारतले उक्त स्थानमा बाटो बनाएको कारण यो विवाद चुलिएको हो ।

यस विषयमा राजेशले भनेका छन्, ‘मनिषा पनि हाम्रै हुन् । लिपुलेक पनि हाम्रै हो । दुबै माया उतिकै छ । देशको माया त सबैलाई लाग्छनी ।‘ सामाजिक संजाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको र यो विषयमा भारतले निकाल्नु को कुनै अर्थ नरहने बताएका छन् । छलफलबाट मात्रै समस्याको हल हुने समेत उनले बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको समेत प्रसंसा गरेका छन् ।