अनुष्का शर्मा बिरुद्ध कानुनी पत्र सम्प्रेशण

अनुष्का शर्मा निर्माता रहेको भारतीय सिरियल ‘पाताल लोक’ मा नेपाली शब्द जोडेर निकै तुच्छ गाली दिइएको छ । यसको सर्बत्र नेपाली समुदायमा विरोध भैरहेको छ । यहि बीच आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै शर्मालाई कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ । कोरोना भाइरसको संकटबीच निःशुल्क कानुनी सल्लाह प्रदान गर्न गठन गरिएको लयर्स गिल्डका सदस्य विरेन श्री गुरुङले अनुष्कालाई उक्त नोटिस पठाएका हुन् ।

गुरुङ भन्छन्, ‘त्यहाँ एउटा दृश्य छ, जहाँ महिला प्रहरीले नेपाली पात्रलाई केरकार गर्ने क्रममा जातिवादी गाली प्रयोग गर्छिन् । जुन सिरिजको दोस्रो शृङ्खलामा देखाइएको छ, त्यो पूरा नेपाली समुदायको लागि अपमानजनक छ,’ गुरुङले द क्विन्टसँग भनेका छन्, ‘नेपाली शब्द प्रयोग नभएको भए केही समस्या हुदैन थियो । तर त्यस्तो अस्वीकार्य शब्द त्यहाँ प्रयोग गरिएको छ । त्यसैले सिरिजकी निर्माता अनुष्का शर्मालाई हामीले नोटिस पठाएका हौं ।’

अरुणाञ्चलको गोर्खा समाजले पनि सिरिजमा प्रायो भएको शब्दले गोर्खा समुदायको अपमान गरेको भन्दै भारतको मानवअधिकार आयोगमा उजुरी दिएको छ ।