नेपाली छोटो फिल्म ‘जुनुको जुत्ता’ ले जित्यो ‘बेस्ट चिल्ड्रेन शर्ट’ अवार्ड

केदार श्रेष्ठ निर्देशित छोटो फिल्म ‘जुनुको जुत्ता’ ले ‘लस एन्जेलस इन्टरनेशनल फिल्म फेस्टिभल २०२०’ को ‘इन्डी शर्ट फेस्ट’ अन्तर्गत ‘बेस्ट चिल्ड्रेन शर्ट’ अवार्ड जितेको छ । ‘जुनुको जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ ।

त्यसैगरि यो फिल्म यहि जेठ ३ गते ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ मा पनि प्रदर्शन हुदैछ । यस फेस्टिभलमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो ।

फिल्मले ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९’ मा नेपाल प्यानोरमा अन्तर्गत ‘बेस्ट फिक्सन अवार्ड’ जितेको थियो भने गत माघमा भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२०’ मा ‘स्पेसल जुरी मेन्सन अवार्ड’ पाएको थियो ।

ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’ लाई यशु श्रेष्ठको बालकथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन् । विभु पौडेल प्रोड्युसर रहेको फिल्ममा सरुन मानन्धरको छायांकन रहेको छ । विप्लपराज पोखरेल सम्पादित फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, शुशीला अधिकारी, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् । फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा लगायतको अभिनय छ ।