७० दिनदेखि अमेरिकामै थुनिए गायक हिमाल सागर, भन्छन् – “सरकारले अनुमति दिए आफै प्लेन चार्टर गरेर आउँछौं”
चर्चित गायक हिमाल सागर अमेरिकामा अड्किएका छन् । २० दिनको कन्सर्टका लागि नेपाली नयाँ वर्ष छेको पारेर अमेरिका पुगेका उनी उतै रोकिएका हुन् । युटुव च्यानल न्युज फिल्मी संग कुराकानी गर्दै उनले आफु लगायत अन्य धेरै नेपालीहरु पनि बिचल्लीमा परेको र नेपाल सरकारले अनुमति दिए आफै प्लेन चार्टर गरेर नेपाल आउने बताएका छन् । उनले आफुहरु नेपाल फर्केपछि सरकारले तोकेको समय भन्दा पनि दोब्बर समय क्वारेंन्टाइनमा बस्न तयार रहेको पनि बताए ।
‘केहि समय मात्रै होला, ठिकै छ नि’ भन्ने सोचेर उतै बसेका उनी ७० दिनदेखि त्यहि रहन बाध्य भएका छन् । साथी महेश भट्टको घर भर्जिनियामा बसिरहेका उनी पछिल्लो समय भने आत्तिन थालेका छन् । सन् २०१० सालदेखि अमेरिका बसाइ शुरु गरेका महेशले हिमाल सागरलाई ४-५ महिना अघिबाट चिन्न थालेका रहेछन् । भक्त भट्टको मध्यमबाट मित्रता अगाडी बढेको महेश बताउँछन् ।
उनले आफुसंगै अन्य व्यक्ति फसेको विषयमा सरकारले सोच्नु पर्ने बताएका छन् । १५ दिन जति सम्म स्थिति सामान्य नै लागेको भए पनि अहिले अत्यास लाग्न थालेको उनले बताए । नेपालबाट पैसा पठाएर विदेशमा बस्ने मान्छेले गुजारा गर्ने स्थिति समेत नरहेकोले उनले फर्किने इच्छा ब्यक्त गरे । उनी १५०० – २००० डलर बोकेर गएका थिए । अमेरिकामा एउटा कन्सर्टमा १००० डलर कमाएपछि उनी ‘लक डाउन’ भए । उनको माग नेपाल फर्किने रहेको छ । उनले आफु मात्रै नभएर अन्य विदेशमा अड्किएका व्यक्तिलाई समेत फर्काउन माग गरेका छन् ।
२०१५ मा पहिलो पटक अमेरिका गएका उनको यो यात्रा पाँचौ पटकको थियो । नेपाल फर्केर उनी अस्ट्रेलिया जान चाहन्थे जहाँ उनको गीतको काम थियो । उनले आफु ग्रिन कार्डको लागि भनेर अमेरिका नगएको बताउछन् । अझै पनि उनलाई नेपाल छोड्ने चाह नभएको बताएका छन् । नेपालमा भन्दा राम्रो सम्मान पाउने भएकोले उनले उतै बस्दा पनि समस्या नहुने समेत थपे । तर आफ्नो देश छोड्ने इच्छा भने नभएको भने ।
यतिबेला काठमान्डौबाट झापा समेत जान समस्या छ । यस्तो बेलामा अरुको देशमा बन्द कोठामा ७० दिन थुनिनु सहज नभएको उनी बताउछन् । उनले काठमान्डौ धेरै मिस गरेको साथै कफी खाएको, घुमेको लगायत साथि भाइलाई मिस गरेको बताए । परिवारसंगको निरन्तर सम्पर्कमा रहेकोले धेरै आतिएको छैन भन्छन् ।
उनले भाबुक हुँदै “मरे पनि नेपालमै मरुँ जलाउँदा पनि पशुपतिमै जलुँ भन्ने लागेको छ” भने । विदेशमा रहदा उनले पीडामा आँशु समेत झारेका रहेछन् । उनले लकडाउनको समयमा कुनै पनि सिर्जना गर्न नसकेको भन्छन् । ७० दिनमा केही पनि सोच्न नसकेको उनी बताउछन् । उनले भने – “खुसी हुन धेरै प्रयास गरे पनि तर सकेको छैन” । उनी नेपाल फर्केर झापा जान चाहन्छन् ।
प्रतिक्रिया