विकास बोर्ड अध्यक्ष पदको लागि १० जनाको आवेदन

विकास बोर्ड अध्यक्ष पदको लागि १० जनाले आवेदन दिएका छन् । मंगलबार आवेदन दिने अन्तिम दिन थियो । आवेदन दिनेहरुमा – भगवती कुमारी मैनाली उप्रेती (भीम मैनाली), भुवन के, सी., राजेश थापा, अर्जुन कुमार डंगोल, दयाराम दाहाल, ध्यान बहादुर राई परशुराम चौधरी, सोहित मानन्धर, राजेन्द्र कुमार उप्रेती र दिपक श्रेष्ठ रहेका छन् । अध्यक्षको मुल्यांकन ब्याबसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा गरिनेछ भनिए पनि पूर्णतया राजनीतिक नियुक्ति हुने हुनाले आवेदन दिने उमेदवारहरु आ-आफ्नो पहुँच अनुसार शक्तिको अभ्यासमा लागिसकेका छन् ।

यो पटक निर्देशक दयाराम दाहाललाई सबैभन्दा बलियो उमेदवारको रुपमा हेरिएको छ । जनपक्षीय चलचित्रकर्मी संघले पनि उनको नाम अध्यक्षको लागि सिफारिस गरेको छ । त्यस्तै दाहाल बाहेक भुवन के. सी., सोहित मानन्धर र अर्जुन कुमारलाई पनि बलियो दावेदारको रुपमा लिईएको छ ।

अघिल्लो पटक आवेदन दिनको लागि न्युनतम शैक्षिक योग्यता स्नातक हुनुपर्नेमा यस पटक भने प्रवीणता प्रमाणपत्र तह वा सो सरह उतिर्ण गरि नेपाली चलचित्र उद्योगको स्थापन, विकाश, संरक्षण, सम्बर्धन तथा प्रबर्धनमा निरन्तर रुपमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले पनि आवेदन दिन सक्ने प्राबधान ल्याईएको थियो ।

गएको मङ्सिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछी अध्यक्ष पद रिक्त भएको थियो । राजनीतिक चलखेलकै कारण पद रिक्त भएको करिब ६ महिना पछी मात्र आवेदन माग गरिएको थियो ।