शाहरुखले सन्नी देओललाई दिए ‘दामिनी’ को रिमेक अधिकार

‘डर’ मा संगै काम गरेका अभिनेताहरु शाहरुख खान र सन्नी देओल बीचको खासै राम्रो सम्बन्ध रहेको छैन । तर लकडाउन शुरु हुनुभन्दा केहि अघि शाहरुख खानले आफ्नो कम्पनि संग रहेको ‘दामिनी’ फिल्मको रिमेकको अधिकार सन्नी देओललाई दिएका छन् ।

सन्नी देओल, मिनाक्षी र ऋषि कपुर अभिनित सन् १९९३ को ब्लकबष्टर फिल्म ‘दामिनी’ को रिमेक अधिकार निर्माताहरु अलि मोरानी र करिम मोरानीबाट शाहरुखको फिल्म निर्माण कम्पनि रेड चिल्लिजले लिएको थियो । जब सन्नीले आफ्नो छोरालाई मुख्य भूमिकामा लिएर उक्त फिल्मको रिमेक गर्न खोजेको कुरा शाहरुखले थाहा पाए तब उनि सन्नीको जुहू स्थित निवासमा गए र रिमेक अधिकार सन्नीलाई हस्तान्तरण गरेका थिए ।

‘डर’ को छायांकनको समयमा दुई अभिनेताहरु बीच मनमुटाव भएको खबरहरु बाहिरिएका थिए । सन् १९९३ मा रिलिज भएको उक्त फिल्ममा शाहरुखले भिलीयनको भूमिका गरेका थिए । एक च्याट शोमा कुराकानी गर्दै सन्नी देओलले आफुलाई फिल्ममा काम गर्दै गर्दा पुरा कथा नभनिएको र फिल्ममा उनलाई भन्दा पनि भिलीयनको भूमिका लाई बढी प्राथमिकता दिईएको दाबी गरेका थिए ।