इरफानको सम्मानमा गाउँको नामनै परिवर्तन

भारतीय अभिनेता इरफान खान आफ्नो अभिनय कौशलका कारण धेरै दर्शकहरुका प्रिय अभिनेता बन्न सफल अभिनेता हुन् । हालै उनको सम्मानमा महाराष्ट्रको एक गाउँको नाम नै परिवर्तन गरिएको छ । महाराष्ट्रको गाउँ इगातपुरीको नाम ‘हिरोची वाडी’ बनाउने निर्णय गरिएको हो । उक्त मराठी नामको अर्थ ‘हिरोको छिमेकी’ हुन्छ । उक्त गाउँमा इरफानको फार्महाउस रहेको छ ।

इरफानले उक्त गाउँको लागि गरेको योगदानले गर्दा पनि गाउँलेहरु उनि प्रति आभारी रहेका छन् । इरफानले गाउँको लागि एम्बुलेन्स, बालबालिकाहरुको लागि कम्प्युटर, पुस्तकहरु, रेनकोट, स्विटरहरु सहयोग गर्ने गर्थे । त्यस्तै चाडपर्वको बेला मिठाई पनि पठाउने गर्थे । एक गाउँलेका अनुसार इरफान सहयोगको लागि सदैव तयार रहन्थे ।

क्यान्सर संगको २ वर्षको लडाई पछि गएको अप्रिल २९ मा इरफानको निधन भएको थियो । उनी न्युरो इन्डोक्राइन ट्युमर बाट ग्रसित थिए । उनको परिवारमा पत्नी र दुई छोराहरु छन् । उनि अन्तिम पटक फिल्म ‘अंग्रेजी मिडियम’ मा देखिएका थिए । उक्त फिल्म दर्शकहरु तथा समिक्षकहरु रुचाएका थिए ।