सोहितले दिए विकास बोर्ड अध्यक्षमा उमेदवारी

अभिनेता, निर्माता तथा हल संचालक सोहित मानन्धरले चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आफ्नो उमेदवारी दर्ता गरेका छन् । बोर्डको नेतृत्व अब युवा वर्गको हातमा जानुपर्ने बताउदै आएका सोहितलाई यसपटक एक बलियो उमेदवारको रुपमा हेरिएको छ । उनी अघिल्लो पटकको पनि आकांक्षी उमेदवार हुन् ।

सोहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका भतिज हुन् । विकास बोर्डको दौडमा यसैलाई उनको सबैभन्दा ठुलो अस्त्र पनि मानिएको छ । रामवीर आफैले प्रधानमन्त्रि समक्ष सोहितको कुरा उठाएको चर्चा छ । काका मन्त्रि भएकोले सोहित आफु अध्यक्ष हुनेमा आश्वस्त छन् साथै युवा वर्गका केहि फिल्मकर्मीहरुले पनि उनको समर्थन गरेका छन् । तर यस पटक उमेदवारीको लागि न्युनतम शैक्षिक योग्यता घटाइएको अभिनेता सोहित मानन्धरलाई मन परेको छैन । यस भन्दा अघि आवेदन दिनको लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान थियो तर यस पटक त्यसलाई घटाएर प्रविणता प्रमाणपत्र बनाइएको छ ।

राजनीतिक नियुक्ति हुने हुनाले अध्यक्षमा सोहित भन्दा शक्तिशाली उमेदवार आउने सम्भावना पनि देखिन्छ । यस पटक न्युनतम योग्यता घटाइएकोले सुनियोजित रुपमा कोहि व्यक्ति बिशेषलाई पदमा ल्याउन खोजिएको भन्ने चर्चा फिल्म उद्योगमा चलिरहेको छ । यदि त्यस्तो हो भने चाहिँ सोहितको उमेदवारी केवल औपचारिकता मात्र साबित हुनेछ । तर बोर्डमा युवा नेतृत्व चाहिन्छ भनेर उमेदवारी दिने उनको कदमलाई भने सकारात्मक मान्न सकिन्छ ।

कम्प्युटर इञ्जिनियरिङ्गको अध्ययन सकेपछि सोहितले अनुप बरालको ‘एक्टर्स स्टुडियो’ मा अभिनयको प्रशिक्षण लिएका थिए। बि. सं. २०६९ मा प्रदर्शनमा आएको फिल्म ‘रिदम’ बाट उनले फिल्मको अभिनय यात्रा शुरु गरेका थिए । उनको पहिलो फिल्मनै सफल भयो । त्यसपछि उनले ‘नै नभन्नु ल -२’, ‘भुल भुलैया’ र ‘नतिजा’ मा अभिनय गरे । फिल्म ‘हिटलर’ मा उनि मुख्य भूमिकामा देखिए र यसै फिल्मबाट निर्माता पनि बने तर फिल्मले सफलता हात पार्न सकेन । उनी ‘जात्रै जात्रा’ र ‘पोइ पर्यो काले’ मा पनि छोटो भूमिकामा देखिएका थिए । सोहितले नेपाल भाषाको फिल्म ‘मु मदुगु जिन्दगी’ र ‘लाखय भाजु’ मा पनि अभिनय गरेका छन् । हाल उनि बालाजु, बाइपास स्थित अष्ट नारायण हल संचालन गरेर बसिरहेका छन् ।