तमिलनाडु सरकारले पोष्ट-प्रोडक्सनको काम गर्न दियो अनुमति

भारतमा तमिलनाडु सरकारले फिल्म तथा टेलिभिजन कार्यक्रमहरुको पोष्ट-प्रोडक्सनको काम गर्न अनुमति दिएको छ । थुप्रै फिल्म निर्माताहरुले छायांकन सकिएका प्रोजेक्टको पोष्ट-प्रोडक्सनको काम गर्न अनुमति दिन गरेको अनुरोध पछि त्यहाँको सरकारले मे ११ देखि काम गर्न दिने भएको हो ।

सरकारले एकैपटकमा बढीमा १५ जना सहभागी भएर सम्पादन, डबिंग, स्पेसल इफेक्ट, डिआइ, पार्श्व संगीत, साउण्ड इफेक्ट, फोले र मिक्सिंगको कामको लागि अनुमति दिएको हो ।

अघिल्लो हप्ता निर्माताहरुले तमिलनाडुका मुख्यमन्त्रि एडाप्पाडि के. पलानीस्वामीलाइ एक निवेदन मार्फत कम्तिमा पनि छायांकन सकिएका फिल्महरुको पोष्टको कामको लागि अनुमति दिन अनुरोध गरेका थिए । उक्त निवेदनमा मार्च २४ बाट शुरुभएको लकडाउनको कारण फिल्मको सम्पूर्ण कामहरु रोकिएको र तमिल फिल्म उद्योगको ५०० करोड फ्रिज भएको उल्लेख गरिएको थियो । लकडाउन घोषणा हुँदा केहि फिल्महरुको भने पोष्ट-प्रोडक्सनको काम मात्र बाँकी थियो । चेन्नई रेड जोनमा परेको कारण छायांकनको कामहरु सुचारु गर्न नमिल्ने भएपनि सरकारका गाइडलाइनहरु पालना गरेर पोष्ट-प्रोडक्सनको काम गर्न अनुमति दिन अनुरोध गरिएको थियो । यसरि काम गर्दा सामाजिक दुरी कायम राख्ने, काम गर्ने ठाउँ स्यानीटाइज गर्ने, मास्क तथा पन्जाको प्रयोग गर्ने प्रतिबद्धता पनि जनाइएको थियो ।

भारतकै अर्को राज्य केरलाको सरकारले यस अघिनै बढीमा ५ जना जम्मा भएर पोष्ट-प्रोडक्सनको काम गर्न अनुमति दिईसकेको छ र त्यहाँ कामहरु सुचारु पनि भइसकेको छ ।