इजिप्टका फिल्मकर्मी शेदी हबासको जेल भित्रै निधन
इजिप्टका २४ वर्षीय फिल्मकर्मी शेदी हबासको निधन भएको छ । मे २ मा कायरो स्थित तोराको जेलभित्र उनको निधन भएको हो । उनका परिवार तथा साथीहरुले उक्त जानकारी दिएका हुन् । त्यहाँको आधिकारिक निकायले गल्तिवश पानि भनेर ह्यान्ड स्यानीटाईजर खाएकोले उनको निधन भएको बताएको छ । इजिप्टका जेलहरु अझ बिशेष गरि तोराको जेलभित्र मर्ने हाइ प्रोफाइल कैदीहरुको संख्या पछिल्लो समयमा निकै बढीरहेको छ ।
रेमी एस्समको एउटा म्युजिक भिडियो निर्देशन गरेको कारण सन् २०१८ को मार्चमा हबासलाई पक्राउ गरिएको थियो । उक्त भिडियोमा रेमी एस्समले इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीको आलोचना गर्दै नाचिरहेका थिए । रेमी एस्सम चर्चित रक संगीतकर्मी हुन् । उक्त म्युजिक भिडियोमा रास्ट्रपति अल-सिसीलाई ‘बालाह’ (अल-सिसीका आलोचकहरुले उनि विरुद्ध प्रयोग गर्ने चर्चित कमेडी फिल्मको चरित्र ) संग तुलना गरिएको छ । उक्त गीतमा ‘तिमि बगैचामा बस्छौ र हामी जेलमा बस्छौं, भगवानले तिम्रो सहयोगीहरु सहित तिमीलाई अध्यारो जेलमा लैजाउन, म कामना गर्छु तिमि त्यस्तै ठाउँमा कुहिनु परोस’ जस्ता शब्द प्रयोग गरिएको थियो ।
हाल स्वीडेनमा निर्वासित जीवन बिताइरहेका एस्समले गीतको सामग्रीमा सेडीको केही पनि दोष नरहेको आफ्नो वेबसाइट मार्फत बताएका छन् । उनले वेबसाइटमा हबासले जेलबाट लेखेको अन्तिम पत्र पनि राखेका छन् जसमा लेखिएको छ – ‘जेलले मार्दैन तर एक्लोपनले मार्छ । मलाई बाँच्नका लागि तिम्रो सहयोगको आबश्यकता छ’ ।
इजिप्टका जेलहरुमा कैदीहरुको स्वास्थ्य अवस्था नाजुक रहेको भनेर व्यापक आलोचना हुँदै आएको छ ।
(स्रोत : दि गार्जियन)
प्रतिक्रिया