“बोर्ड अध्यक्षको लाइनमा टप-टप मान्छेहरु छन् अरे ! किन आवेदन दिनु ?” – लय संग्रौला
चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि केहि दिन अघि आवेदन माग गरिएपछि सम्भावितहरुको सुचीमा आउने एउटा नाम हो – लय संग्रौला । लामो समय नेपाल टेलिभिजनमा आफ्नो दक्षता देखाएका संग्रौलाले थुप्रै टेलीशृंखलाहरुमा अभिनय, निर्देशन तथा फिल्महरुमा पनि अभिनय तथा निर्देशन गरेका छन् । विकास बोर्ड अध्यक्षको लागि आवेदन दिने बिषयमा मेरोफिल्म संग कुराकानी गर्दै उनले यो पटकको अध्यक्षको मागलाई लिएर शंका ब्यक्त गरेका छन् ।
“पहिले तोकिएको न्युनतम शैक्षिक योग्यता यसपटक घटाइएको छ र को व्यक्ति बिशेषलाई लक्षित गरेर यसो गरिएको भन्ने जिज्ञासा पैदा भएको छ” उनले भने । उनले आफ्नो उमेदवारिबारे बोल्दै एक पटक राम्रो सँग बुझेर मात्र आफुले उमेदवारि दिने नदिने निर्णय गर्ने बताए । उनले संचारमन्त्रि मार्फत प्रधानमन्त्रिले अरुकसैलाई वचन दिए नदिएको बुझ्न भनेको र दिईसकेको भए आफुले आवेदन नदिने जानकारी दिए । उनले अगाडी भने – ‘स्नातक तह पास नगरेका धेरै टप-टप मान्छेहरु छन् अरे ! अरुकै लागि यो डिजाइन गरिएको भए त किन दुख गर्नु” । उनले आफुभन्दा शक्तिशाली कोहि लागिपरेको हुन सक्ने संकेत पनि गरेका छन् । उनले पटक पटक भ्रममा परेर आफु र आफ्नो योग्यताको मानहानी नगर्ने बताए । उनले भने – “कसैको लागि डिजाइन गरिएको र यो पटक म प्राथमिकतामा पर्दिन भन्ने संकेत पाएँ भने किन आवेदन दिनु ?”
अध्यक्ष जस्तो पदको लागि शैक्षिक योग्यता त कम्तिमा पनि स्नातक हुनुपर्छ भनेर आफुहरुले शेरधन राईको पालामा उक्त प्रावधान राखेको तर पूर्व संचारमन्त्रि गोकुल बास्कोटाले भित्र भित्रै प्रावधान परिवर्तन गरेको पनि उनले बताए ।
अघिल्लो पटक पनि आवेदन दिएका संग्रौला एमालेका कार्यकर्ता तथा पार्टी सदस्य पनि हुन् । नेपाल टेलिभिजनमा प्रशासकीय काम गरिसकेको हुनाले उनले आफुलाई दक्ष उमेदवारका रुपमा लिएका छन् । उनि संचारमन्त्रि युवराज खतिवडाका बाल्यकाल देखिकै साथि हुन् । उनीहरुले झापामा संगै स्कुल तथा कलेज अध्ययन गरेका थिए ।
प्रतिक्रिया