“बोर्डमा गएर २० वर्षे कलाकारितामा दाग लगाउँदिन” – निखिल उप्रेती

चलचित्र विकास बोर्डले अध्यक्ष पदको लागि आवेदन माग गरेपछि विभिन्न फिल्मकर्मीहरुको नाम संचार माध्यममा आइरहेको छ । यसै क्रममा अभिनेता निखिल उप्रेती पनि पदको लागि इच्छुक रहेको भनेर केहि संचार माध्यमहरुमा आएको समाचारहरुको उनले खण्डन गरेका छन् । मेरो फिल्म संग कुरा गर्दै बोर्ड अध्यक्षमा उठ्ने आफ्नो कुनै मनसाय नरहेको उनले बताए । उनले भने – ‘एउटा बक्स अफिस पनि लागु गर्न नसक्ने, निर्माताको हकहितमा बोल्न नसक्ने ठाउँमा म गएर के गर्नु” ।

उनले विकास बोर्डले अहिले सम्म भवन बनाउने, कार्ड बाँड्ने र पुरस्कार तथा सम्मान वितरण बाहेक केहि उल्लेख्य काम नगरेको बताउदै यतिबेला बोर्डमा उमेदवारि दिएर आफ्नो २० वर्षे फिल्मी करियरलाई ३ वर्षको कार्यकालको कारण दाग लाग्न नदिने बताए । उनका अनुसार बोर्डमा जो सुकै आए पनि काम गर्ने वातावरण नभएको र कुनै दिन काम गर्ने वातावरण बन्यो भने र बोर्डले आफुलाई बोलायो भने त्यतिबेला सोच्न सक्ने बताए । उनले भने – ” जतिबेला विकास बोर्ड सम्पूर्ण फिल्मकर्मीले आशा भरोसा गर्न सक्ने ठाउँ बन्छ त्यतिबेला सोच्नेछु” ।