श्रमिकहरुको पीडामा बनेको फिल्म ‘मे वान’

श्रमिकको पीडा बोकेको छोटो फिल्म ‘मे वान’ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर सार्वजनिक भएको छ । श्रमिकहरुको हक अधिकार सुनिश्चित होस् अनि श्रमको कदर होस् भन्ने सन्देश दिइएको फिल्ममा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा परेका श्रमिकहरुको कथा समावेश छ । साथै मजदुरको पीडा उठाउने सञ्चारकर्मी स्वयम् नै पीडामा रहेको फिल्मले देखाउँछ ।

पुरुषोत्तम बस्नेतको निर्देशन रहेको सर्ट फिल्ममा दीपज्योति थापा, अनित जंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय रहेको छ । फिल्मको कास्टिङ निर्देशक बसन्त अधिकारी हुन् । कपिल खड्का र भोला सुवेदीको छायांकन रहेको ‘मे वान’ मा अनिल कुमार महर्जनको सम्पादन रहेको छ । नेसन मिडिया ग्रुप प्रालिको निर्माण रहेको यो सर्ट फिल्म नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।