इरफान खानका पाँच उत्कृष्ट फिल्महरु
इरफान खानले अभिनयको शुरुवाती क्षणमा नाटक तथा टेलिभिजन सिरियलहरुमा काम गरेका थिए । सन् १९८८ मा मिरा नायरको फिल्म ‘सलाम बम्बे’ मा छोटो भूमिका निभाएर फिल्ममा डेब्यु गरेका उनले हलिउड तथा बलिउड गरेर दर्जनौ फिल्महरुमा अभिनय गरेका छन् ।
उनका धेरै फिल्महरुले दर्शक तथा समिक्षक दुबैको माया पाएका छन् । ती मध्ये हामी उनका पाँच फिल्महरु बारे चर्चा गर्दैछौं ।
मकबूल (२००३)
बिशाल भारद्वाज निर्देशित यो फिल्म शेक्सपियरको दु:खान्त नाटक ‘म्याकबेथ’ मा आधारित रहेको छ । भारद्वाजले ‘म्याकबेथ’ को कथालाई मुम्बईको अन्डरवर्ल्डको परिवेशमा ढालेका छन् । फिल्ममा अब्बाजी (पंकज कपुर) अन्डरवर्ल्डका डन छन्, उनि आफ्नी पत्नी निम्मी (तबू) लाई अत्यन्तै माया गर्छन् । तर निम्मी भने अब्बाजीका बिश्वास पात्र मकबूल (इरफान खान) संग प्रेममा छिन् । निम्मी र मकबूल मिलेर अब्बाजीको हत्या गरेर अन्डरवर्ल्ड कब्जा गर्ने साथै आफ्नो प्रेम सफल बनाउने योजना बनाउँछन् । फिल्ममा नसिरुद्दीन शाह, ओम पुरी, पियूष मिश्रा जस्ता दिग्गज कलाकारहरुको पनि अभिनय रहेको छ ।
द नेमसेक (२००६)
चर्चित निर्देशक मिरा नायरले निर्देशन गरेको यो फिल्म झुम्पा लाहिरीको सोहि नामको उपन्यासमा आधारित रहेको छ । इरफानलाई फिल्ममा डेब्यु गराउने श्रेय पनि मिरा नायरलाई जान्छ । सन् १९८८ को मिरा नायरको निर्देशन रहेको फिल्म ‘सलाम बम्बे’ मा इरफानले छोटो भूमिका निभाउने मौका पाएका थिए । उक्त फिल्ममा इरफानलाई पहिले भनिएको भूमिका बाट हटाएर छोटो भूमिका दिईएको थियो । इरफान त्यसकारण अत्यन्त दुखि थिए । मिराले इरफानलाई भबिष्यमा मुख्य भूमिका दिने वाचा गरेकी थिईन् । र त्यो ‘भबिष्य’ आयो १८ वर्ष पछि । सन् २००६ को मिरा नायर निदेषित फिल्म ‘द नेमसेक’ मा इरफान मुख्य अभिनेता भएर देखिने मौका पाए । यस फिल्ममा तबू, काल पेन लगायतको पनि अभिनय रहेको छ । फिल्ममा कलकत्ताबाट अमेरिका गएका पति-पत्नी (इरफान र तबू) र अमेरिकामै जन्मिएका उनीहरुका सन्तानको सम्बन्ध देखाईएको छ । यो फिल्म अमेजन प्राइममा उपलब्ध रहेको छ ।
पानसिंह तोमर (२०१२)
भारतीय राष्ट्रिय खेलमा स्वर्ण पदक जित्न सफल धावक पानसिंह तोमरको सत्य घटनामा आधारित यो फिल्मलाई तिग्मान्सु धुलियाले निर्देशन गरेका हुन् । अवकाश पाएर गाउँ फर्किएको पानसिंह बाबु सिंहसँग जग्गा सम्बन्धी विवादमा पर्छ। त्यहि विवादले उब्जाएको परिस्थितिको कारण उसले हतियार उठाउछ र चम्बलको खुंखार डाँकु बन्न पुग्छ । इरफानले यस फिल्मबाट फिल्म फेयर तथा राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।
द लन्चबक्स (२०१३)
रितेश बत्रा निर्देशित यस फिल्ममा शहरको दुई अलग अलग ठाउमा बस्ने व्यक्तिलाई एउटा टिफिन बक्सले जोड्छ र उनिहरु बीच भावनात्मक सम्बन्ध स्थापित गराउँदछ । यस फिल्मले कान फिल्म फेस्टिभलमा क्रिटिक्स विक भ्युअर्स च्वाइस अवार्ड जितेको थियो । यस फिल्ममा निम्रत कौर र नवाजुद्दीन सिद्धिकीको पनि मुख्य भूमिका रहेको छ । यो फिल्म त्यतिबेला इरफानको सबै भन्दा धेरै पैसा कमाउने फिल्म बनेको थियो । तर पछि त्यो रेकर्ड सन् २०१७ को फिल्म ‘हिन्दि मिडियम’ ले तोडेको थियो ।
पिकु (२०१५)
यस फिल्ममा एक छोरी र बृद्ध बाबुको सम्बन्ध रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । फिल्ममा इरफान संगै दिपिका पादुकोण र अमिताभ बच्चन प्रमुख भूमिकामा देखिएका थिए सुजित सरकारले निर्देशन गरेको यो एक सफल फिल्मको श्रेणीमा पर्दछ । यो फिल्म अमेजन प्राइममा उपलब्ध रहेको छ ।
यी संगै ‘मदारी’, ‘हासिल’, ‘द वारियर’, ‘अ माइटी हार्ट’, ‘हिन्दि मिडियम’, ‘लाइफ इन अ मेट्रो’, ‘तलवार’, ‘लाइफ अफ पाई’, ‘स्लमडग मिलियोनेयर’, ‘हैदर’ पनि इरफानका मन पराइएका फिल्महरु हुन् ।
प्रतिक्रिया