भारतीय कलाकार ऋषि कपूरको निधन
चर्चित भारतीय अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ । २ वर्ष अघिदेखि क्यान्सरसंग संघर्ष गरिरहेका कपूरलाई स्वास प्रश्वासको समस्या आएपछि बुधबार सर एच. एन. रिलायन्स फाउन्डेसन हस्पिटलमा भर्ना गरिएको थियो । ऋषिका दाई रणधीर कपूरले ऋषिको निधनको खबर पुष्टि गरेका हुन् ।
सन् २०१८ मा क्यान्सर भएको थाहा भएपछि ऋषिले एक वर्ष भन्दा बढी समय न्यु योर्कमा उपचारमा बिताएका थिए । त्यसक्रममा उनकी पत्नी तथा अभिनेत्री नितु सिंह उनि संगै थिईन् । स्वास्थ्य गडबडीकै कारण उनि फेव्रुअरीमा पनि दुई पटक अस्पताल भर्ना हुनुपरेको थियो ।
प्रसिद्ध अभिनेता राज कपूरका छोरा ऋषि कपूरले सन् १९७३ मा डिम्पल कपाडिया संग फिल्म ‘बबी’ बाट डेब्यु गरेका थिए । बालकलाकारको रुपमा भने उनले ‘बबी’ अघि पनि फिल्महरुमा अभिनय गरिसकेका थिए । उनले ‘अमर अकबर एन्थोनी’, ‘लैला मजनु’, ‘रफो चक्कर’, ‘सरगम’, ‘कर्ज’, ‘बोल राधा बोल’ लगायतका चर्चित फिल्महरुमा अभिनय गरेका छन् । पछिल्लो क्रममा उनि ‘कपूर एण्ड सन्स’, ‘डि – डे’, ‘मूल्क’ र अमिताभ बच्चन संग ‘१०२ नट आउट’ मा देखिएका थिए ।
ऋषि पछिल्लो पटक डिसेम्बरमा इमरान हास्मीसंग ‘द बडी’ मा देखिएका थिए ।
हिजो मात्रै बलिउडका चर्चित अभिनेता इरफान खानको पनि निधन भएको थियो।
प्रतिक्रिया