भारतीय अभिनेता ऋषि कपुर अस्पताल भर्ना

स्वास्थ्यमा समस्या आएपछि भारतीय अभिनेता ऋषि कपुरलाई अस्पताल भर्ना गरिएको छ । २ वर्ष अघिदेखि क्यान्सरसंग संघर्ष गरिरहेका कपुरलाई स्वास प्रश्वासको समस्या आएपछि बुधबार सर एच. एन. रिलायन्स फाउन्डेसन हस्पिटलमा भर्ना गरिएको हो । ६७ वर्षीय ऋषिको अवस्था अहिले स्थिर रहेको अभिनेता तथा ऋषिका दाई रनधिर कपुरले जानकारी दिएका छन् । साथै उनले ऋषि कपुरलाई भेण्टिलेटरमा राखिएको भन्ने हल्लाको पनि खण्डन गरेका छन् ।

सन् २०१८ मा क्यान्सर भएको थाहा भएपछि ऋषिले एक वर्ष भन्दा बढी समय न्यु योर्कमा उपचारमा बिताएका थिए । त्यसक्रममा उनकी पत्नी तथा अभिनेत्री नितु सिंह उनि संगै थिईन् । स्वास्थ्य गडबडीकै कारण उनि फेव्रुअरीमा पनि दुई पटक अस्पताल भर्ना हुनुपरेको थियो ।

ऋषि पछिल्लो पटक डिसेम्बरमा इमरान हास्मीसंग ‘द बडी’ मा देखिएका थिए भने उनि ‘द इन्टर्न’ को हिन्दि एडप्टेसनमा दिपिका पादुकोणसंग पनि देखिनेछन् ।