डिजिटल प्लेटफर्ममा मात्र रिलिज भएका फिल्महरु पनि ओस्कारमा मनोनित हुनसक्ने

ओस्कार अवार्ड आयोजक द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले आगामी वर्षको लागि ओस्कार मनोनयनको योग्यता सम्बन्धि केहि नयाँ प्राबधान ल्याएको छ । आउँदो वर्षको संस्करणको लागि हलमा प्रदर्शन नभएका फिल्महरुलाई पनि ओस्कारमा मनोनित हुने अवसर दिईने बताइएको छ । एकेडेमीले कोरोना महामारीको कारण डिजिटल प्लेटफर्ममा रिलिज भएका फिल्मको लागि उक्त अवसर दिने भएको हो । यसअघि कुनै पनि फिल्म मनोनयनको लागि योग्य हुनको लागि लस एन्जेलसमा कम्तिमा एक हप्ता र दिनको कम्तिमा ३ शो हलमा प्रदर्शन गर्नुपर्थ्यो ।

तर डिजिटल प्लेटफर्ममा आएका सबै फिल्म ओस्कारमा मनोनित हुन योग्य भने मानिने छैन । एकेडेमीका अनुसार हलमा प्रदर्शन गर्नको लागि मिति तोकिसकेका र डिजिटल प्लेटफर्ममा रिलिज भएको ६० दिन भित्रमा एकेडेमी स्क्रिनिंग रुमको लागि उपलब्ध गराइएका फिल्महरु ओस्कारको मनोनयनको लागि योग्य मानिनेछन् । एकेडेमीले कोरोना महामारीको कारणले ९३ औ ओस्कारको लागि मात्र अस्थाई रुपमा यस्तो प्राबधान ल्याएको बताएको छ । यो नयाँ व्यवस्था बाट ‘ट्रोल्स वर्ल्ड टुर’, ‘द किङ्ग अफ स्टाटेन आइल्याण्ड’ र ‘मिलिटरी वाइभ्स’ जस्ता फिल्महरुलाई फाइदा हुन सक्नेछ । महामारीको अन्त्य भएर हल सुचारु भएपछि भने फेरी पुरानै प्राबधान लागु हुनेछ ।

एकेडेमीले योग्यताको लागि फिल्म प्रदर्शन गर्ने स्थानमा भने न्यु योर्क सिटि, सन् फ्रान्सिस्को, सिकागो, मायामी र एटलान्टालाई पनि थप्ने भएको छ । त्यस्तै एकेडेमीले उत्कृष्ट ध्वनि सम्पादन र उत्कृष्ट ध्वनि मिश्रणलाई समायोजन गरेर एउटै विधा बनाएको छ ।