इरफान खानको कलायात्रा

चार दिन अघि मात्रै आमा गुमाएका चर्चित भारतीय अभिनेता इरफान खानको बैशाख १७ गते ५३ बर्षको उमेरमा निधन भएको छ ।

दुईवर्ष देखि न्यूरो इंडोक्राइन ट्यूमरसंग संघर्ष गरिरहेका उनको स्वास्थ्यमा समस्या आएपछि मंगलबार मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी हस्पिटलको आइसीयुमा राखिएको थियो । आमाको अन्तिम संस्कारमा समेत घर जयपुर जान नसकेका उनले अन्तत: आमा गएकै बाटो पछ्याएका छन् । उनको निधन भारतीय मात्रै नभएर सम्पूर्ण फिल्म प्रेमीको लागि अपुरणीय क्षतिको रुपमा रहने छ ।

इरफान अलि खान सन् १९६७, जनवरी ७ मा जयपुर, राजस्थानमा जन्मिएका थिए । आमा बेगम खान र बाबु जागिरदार खानका छोरा उनी समयक्रम संगै भारतमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै पहिचान बनाउन सफल भए । उनका बाबु टायरको ब्यापार गर्थे । सानो उमेरमा उनका साथिहरुले उनलाई मिथुन चक्रवर्ती भनेर बोलाउदा उनमा झन धेरै हौसला आउथ्यो । सानै उमेर देखिनै उनमा फिल्म प्रति झुकाब थियो त्यस माथि अभिनेता नसीरुद्दीन शाहको कामले उनलाई अझ धेरै उर्जा दिन्थ्यो ।

जयपुरकै थिएटर आर्टिस्ट खुररामले दिएको सल्लाहलाई पछ्याउदै उनी नेसनल स्कुल अफ ड्रामामा पढ्न पुगे । त्यतिबेला कयौ कलाकारलाई समेत उक्त स्कुलमा अध्ययनको लागि नाम निकाल्न धौधौ पर्ने गर्थ्यो तर इरफानले भने त्यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरे । औपचारिक अध्ययनको साथ साथै उनले नाटकहरु र टेलिभिजनमा काम गर्न थाले । टेलीसिरियल ‘चन्द्राकान्ता’ मा उनले निभाएको बद्रिनाथको भुमिका अत्यन्त मनपराइएको थियो । उनले ‘चाणक्य’, ‘लाल घाँस पर नीली घोडे’, ‘भारत एक खोज’, सारा जहाँ हमारा’, ‘बनेगी अपनी बात’, ‘श्रीकान्त’ जस्ता शोहरुमा पनि काम गरे ।

इरफानले सन् १९९० को मिरा नायरको एकेडेमी अवार्ड मनोनित फिल्म ‘सलाम बम्बे’ बाट डेब्यु गरेका थिए । उनले त्यसपछि तपन शुक्लाको फिल्म ‘एक डक्टरकी मौत’ र बासु चटर्जीको फिल्म ‘कमलाकि मौत’ मा काम गरे । इरफानले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच बॉक्स’, ‘पीकू’, ‘तलवार’, ‘हिन्दि मिडियम’ जस्ता सफल फिल्महरुमा अभिनय गरेका छन् । उनले ‘पान सिंह तोमर’ बाट राष्ट्रिय पुरस्कार पनि पाएका छन् । फिल्म ‘हासिल’ बाट उनले उत्कृष्ट खलपात्रको लागि फिल्म फेयर अवार्ड पाए । उनको सबैभन्दा धेरै पैसा कमाउने फिल्म ‘हिन्दि मिडियम’ हो, यस फिल्मबाट उनले फिल्म फेयर उत्कृष्ट अभिनेता अवार्ड पनि पाएका थिए । सन् २०१३ को उनको फिल्म ‘द लन्चबक्स’ ले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो । बलिउडमा सफलता पाइसके पछी पनि उनले टेलीभिजनमा ‘मानो या ना मानो’ कार्यक्रम चलाएका थिए । ‘अंग्रेजी मिडियम’ उनको अन्तिम फिल्म थियो ।

सन् २००१ को आसिफ कपाडियाको फिल्म ‘द वारियर’ ले उनको लागि हलिवुडको ढोका खुल्यो । त्यसपछी उनले ‘द नेमसेक’, ‘अ माइटी हार्ट’,  ‘स्लमडग मिलियनेयर’, ‘द अमेजिंग स्पाइडर म्यान’,  ‘लाइफ अफ पाई’, ‘जुरासिक वर्ल्ड’, जस्ता फिल्महरुमा काम गरेर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाए ।

सन् १९९५ मा इरफानले नेसनल स्कुल अफ ड्रामाकी सहपाठी सुतापा देवेन्द्र सिकदरसंग विवाह गरे । उनीहरुका २ छोराहरु भए – बबील र आयन । सुतापाका अनुसार इरफान अध्ययन गर्न औधी मन पराउने तथा धेरै मिहिनेती कलाकार हुन् । सन् २०११ मा उनलाई भारत सरकारको चौथो ठुलो सम्मान पद्मश्री पनि प्रदान गरिएको थियो ।

सन् २०१८ मा न्यूरो इंडोक्राइन ट्यूमर देखिए पछि उनि उपचारको लागि लन्डन गएका थिए । उपचार पश्चात सन् २०१९, अप्रिलमा उनि भारत फर्किएका थिए । केहि दिन अघि उनकी आमाको निधन भएको थियो र लकडाउनको कारण उनि अन्तिम संस्कारमा सहभागी हुन सकेका थिएनन् ।

इरफान सबैका प्रिय थिए र उनले निभाएका चरित्रहरुका कारण उनि संसारभरका प्रसंशकहरुको मनमा बस्न सफल छन् ।