युट्युबले नि:शुल्क भर्चुअल फिल्म महोत्सव गर्दै, २० ठुला महोत्सवहरुसंग सहकार्य हुँदै

ट्रिबेका इन्टरप्राइजेजको आयोजनामा भिडियो स्ट्रिमिंग प्लेटफर्म युट्युबले ‘वी आर वन: अ ग्लोबल फिल्म फेस्टिभल’ नाम दिएर नि:शुल्क फिल्महरु देखाउने भएको छ । यस महोत्सवमा युट्युबले क्यान्स, सनडान्स, ट्रिबेका, बर्लिन, टोरन्टो लगायतका संसारभरका चर्चित २० ठुला फिल्म फेस्टिभलसंग सहकार्य गरेर फिल्महरु देखाउन लागेको हो । मे २९ बाट शुरु हुने महोत्सव अन्तर्गत फिल्म, छोटा फिल्म, सङ्गीत, वृत्तचित्र, कमेडी र छलफल कार्यक्रमहरु हुनेछन् । महोत्सवमा कुन कुन फिल्म देखाइनेछ भन्ने अहिल्यै निश्चित भइसकेको भने छैन । फिल्महरु http://youtube.com/weareone मा गएर हेर्न सकिनेछ ।

कोरोना भाइरस महामारीका कारण धेरै अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरू स्थगित भएपछी दर्शकहरुको मनोरंजनको लागि फिल्म महोत्सवहरु युट्युबसंग सहकार्य गर्न राजि भएका हुन् । क्यान्स फिल्म फेस्टिभलका अध्यक्ष पियर लेस्कुर र फेस्टिभल निर्देशक थियरी फ्रेमो द्वारा संयुक्तरुपमा जारी बिज्ञप्तिमा आफुहरु यसरि जोडिन पाएकोमा गर्व महसुस भएको बताइएको छ । त्यस्तै न्यूयोर्क फिल्म महोत्सवका जेन रोजेन्थालले फिल्मले विश्वभरका मानिसहरुलाई एकताको सुत्रमा बाँध्ने बताएका छन् ।

महोत्सव १० दिन सम्म चल्नेछ र दर्शकहरुले स्वैच्छिक रुपमा आर्थिक सहयोग भने गर्न सक्नेछन् । उक्त सहयोगबाट जम्मा भएको रकम विश्व स्वास्थ्यसङ्गठन (डब्ल्यूएचओ) को कोभिड-१९ विरुद्ध स्थापित कोष र अन्य त्यस्तै कार्यका लागि उपलब्ध गराइनेछ ।