न्युनतम शैक्षिक योग्यता घटाएर विकास बोर्डद्वारा अध्यक्ष पदको लागि आवेदन माग

चलचित्र विकास बोर्डले अध्यक्ष पदको लागि आवेदन माग गरेको छ । प्रतिष्पर्धात्मक प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता, अनुभव र उमेर समूहका नेपाली नागरिकले सूचना तथा संचार प्रबिधि मन्त्रालय, संस्थान समन्वय शाखा, सिंहदरबारमा आवेदन पेश गर्नुपर्नेछ । अध्यक्षको मुल्यांकन ब्याबसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा गरिनेछ ।

यस अघि आवेदनको लागि न्युनतम शैक्षिक योग्यता स्नातक भएकोमा यस पटक भने प्रवीणता प्रमाणपत्र तह वा सो सरह उतिर्ण गरि नेपाली चलचित्र उद्योगको स्थापन, विकाश, संरक्षण, सम्बर्धन तथा प्रबर्धनमा निरन्तर रुपमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले पनि आवेदन दिन सक्ने प्राबधान थापिएको छ । यो प्रावधान कोहि व्यक्ति बिशेषलाई लक्षित गरेर ल्याईएको हो की भन्ने आशंका पनि गर्न थालिएको छ ।

गएको मङ्सिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछी अध्यक्ष पद रिक्त भएको थियो । राजनीतिक चलखेलकै कारण पद रिक्त भएको करिब ६ महिना पछी मात्र आवेदन माग गरिएको हो । पदको लागि दयाराम दाहाल, भुवन केसी, राजेश हमाल, नवल खड्का, आकाश अधिकारी, लय संग्रौला लगायतको नाम चर्चामा रहेको छ । हाल बोर्डका सदस्य समेत रहेका दयाराम दाहाललाई अध्यक्ष पदको बलियो उमेदवार मानिएको छ ।