कोरोना संकटपछी कलाकारहरुको पारिश्रमिक समायोजनबारे बोले फिल्मकर्मीहरु

पछिल्लो क्रममा नेपाली फिल्म उद्योगमा केहि कलाकारहरुले माग गर्ने पारिश्रमिकलाई लिएर धेरैनै चर्चा हुन थालेको छ । फिल्म निर्देशक प्रदिप भट्टराईले फिल्मकर्मीहरु र अझ बिशेष गरि कलाकारहरुले लिने पारिश्रमिक बारे एक पोष्ट गरेका छन् । उनको बिशेष चासो कोरोना महामारी सकिएपछिको अवस्थालाई लिएर छ । उनले कोरोनाद्वारा सृजित संकट अन्त्य भए पछि फिल्मकर्मीहरु अझ बिशेषगरि केहि कलाकारहरुले आफ्नो पारिश्रमिक समायोजन बारे सोच्नु पर्छ कि भनेर बहस प्रारम्भ गरेका छन् ।

उनले धेरै पारिश्रमिक लिने फिल्मकर्मी तथा कलाकारहरुलाई संकेत गरेको बुझ्न सकिन्छ । उनले लेखेका छन् – “कोरोना पछिको नयाँ परिस्थितिमा चलचित्रकर्मी अझ विशेष केही कलाकारहरुले आफ्नो पारिश्रमिक समायोजनको बारेमा सोच्नुपर्छ होला नि हैन ??”

भट्टराईको स्टाटसमा केहि फिल्मकर्मीहरुले सोहि बिषयमा कमेन्ट गरेका छन् । फिल्म निर्माता तथा वितरक सुशील पोखरेलले फिल्म क्षेत्रलाई माया गर्ने मान्छे थोरै भएको, धेरै मान्छेहरुमा ‘हिट एण्ड रन’ को सोच रहेकोले आफुलाई चाहिँ आशा नभएको लेखेका छन् । त्यस्तै दिपकराज गिरिले कमेन्टमा लेखेका छन् – ‘अब धेरै कुरा समायोजन हुनु पर्छ, पारिश्रमिक देखि लिएर हाम्रो सहकार्य, सहमति पारिश्रमिक अन्यथा उद्योग उठ्न गार्हो छ’ ।

त्यस्तै चलचित्र पत्रकार सुशील पौडेलले अब फिल्मकर्मीहरुले आधारभूत रकम मात्र लिएर शेयर साझेदारीमा बसेर काम गर्नुपर्ने राय ब्यक्त गरेका छन् । निर्देशक असिम शाहले अब हल र युट्युब बाहेक व्यापारको अन्य माध्यमहरुको पनि बिकाश गर्नु पर्ने लेखेका छन् । उनले हलमा रिलिज गर्न नमिल्ने भएपछि हट स्टार मार्फत रिलिज गर्न लागिएको अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को उदाहरण पनि दिएका छन् ।

पछिल्लो क्रममा धेरै पारिश्रमिक लिने भनिएका कलाकारहरुका फिल्म फ्लप छन् । तर असफलताका बाबजुद पनि उनीहरुको पारिश्रमिक भने प्रत्येक फिल्ममा बढिरहेको छ । कोरोना संकटको अन्त्य पछि फिल्म निर्माणको गति सुस्त हुने अनुमान गरिएको छ । अझ ठुलो बजेटको फिल्म आट्ने निर्माता पाउन त मुस्किल नै हुनेछ । त्यस्तो परिस्थितिमा यदि कलाकारहरु र धेरै पारिश्रमिक लिने अन्य फिल्मकर्मीहरु (केहि निर्देशकहरु) ले आफ्नो पारिश्रमिक समायोजन बारे सोचेनन् भने फिल्म उद्योग र त्यसका साथसाथै उनीहरुको करियर पनि धरापमा पर्ने सम्भावना रहेको छ । यो संकटबाट पार पाउन सबैले सहकार्य गर्नु आबश्यक रहेको छ ।