निर्देशक समाजद्वारा पहिलो चरणको राहत वितरण सम्पन्न
नेपाल चलचित्र निर्देशक समाजले कोभिड -१९, कोरोना महामारीको कारणबाट आफ्नो दैनिक खानपानमा समस्यामा परेका सहायक, मुख्य सहायक तथा निर्देशकहरुलाई राहत सामाग्री उपलब्ध गराउने वचन बद्धता अनुसार पहिलो चरणको राहत वितरण सम्पन्न गरेको छ ।
केही स्पट ब्वाइ लगायत सह निर्देशक, मुख्य सहायक निर्देशक र निर्देशक गरि जम्मा २१ जनाले राहत सामग्रीकोलागि अनुरोध गरेको र सोही अनुसार निर्देशक समाजले पहिलो चरणको राहत सामाग्री वितरण सप्पन्न गरेको जानकारी दिइएको छ ।
साथै निर्देशक समाजले यो अभियानमा हातेमालो गर्ने मनकारी दाताहरु र निर्देशकहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ । समाजले पहिले गरेको प्रतिबद्धता अनुसारनै राहत प्राप्त गर्ने, उपलब्ध गराउने नामहरु सार्बजनिक नगरी संस्थाको अभिलेखमा मात्रै राखेको छ ।
अहिलेको बिषम र अप्ठेरो परिस्थितिमा सुरक्षित साथ घरमा बस्न र सरकारको लकडाउनको नियम पालना गर्न साथै सृजनात्मक कामको योजना बनाउन सबैलाई अनुरोध पनि गरेको छ ।
केहि दिन अघि निर्देशक समाजले एक बिज्ञप्ति जारि गर्दै कोभिड १९, कोरोना संक्रमणको महामारीको अवस्थामा चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने सहायक निर्देशक, मुख्य सहायक निर्देशक वा निर्देशकहरुलाई महामारीको कारणबाट दैनिक खानपान र स्वास्थ्यको समस्या पर्न गएको खण्डमा यथासिघ्र संस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनेको थियो ।
प्रतिक्रिया