२०७६ मा दुई ‘मिस नेपाल’ प्रतियोगीको फिल्ममा प्रवेश, दुवै असफल

बर्ष २०७६ मा दुई मिस नेपाल प्रतियोगीहरु नेपाली फिल्ममा देखिए । मिस नेपाल  २०१६ को उत्कृष्ट पाँचमा पुगेकी सिर्जना रेग्मी फिल्म ‘जाइरा’ मा खेलिन् भने सन् २०१७ की मिस नेपाल विजेता निकिता चाण्डकले ‘साङ्लो’ बाट डेब्यु गरिन् ।

अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहको फिल्म ‘जाइरा’ ले हलमा प्रदर्शन हुनुभन्दा अगाडीसम्म राम्रै चर्चा पाएको थियो । फिल्ममा नम्रताले आफुलाई एक्सन लेडिको रुपमा भित्र्याउन खोजेकी थिईन् भने सिर्जनाले फिल्ममा खलपात्रको अभिनय गरेकी थिईन् । तर फिल्म असफल भयो र सिर्जनालाई पहिलो गासमै ढुंगा भनेझै भयो ।

आशुतोषराज श्रेष्ठले निर्देशन गरेको फिल्ममा अनुपविक्रम शाही, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको थियो ।

त्यस्तै सन् २०१७ की मिस नेपाल उपाधि विजेता निकिता चाण्डकले यो बर्ष फिल्म ‘साङ्लो’ मार्फत विराज भट्टसँग फिल्ममा डेव्यु गरिन् । ‘साङ्लो’ भन्दा पहिलेनै उनले हिमाल न्यौपानेको निर्देशनमा फिल्म ‘रानीमहल’ मा काम गरेकी थिईन् । तर केहि दिनको छायांकन पश्चात फिल्मको काम रोकियो र अहिले यो फिल्म बन्ने नबन्ने निश्चित छैन । त्यसैले पनि रिलिजको हिसाबले ‘साङ्लो’ नै निकिताको डेब्यु फिल्म बन्न पुग्यो । निकिताको साथसाथै लामो समय पछी फिल्ममा फर्किएका विराज भट्टका कारण फिल्मबाट धेरै अपेक्षा गरीएको थियो तर फिल्म फ्लप भयो । विराज भट्टले नै निर्माण र निर्देशन गएको फिल्ममा निकिताले गरेको कामको भने प्रसंशा भएको थियो ।