लकडाउनमा ‘रन्डेभु विथ सम्पदा’
कोरोना महामारीको त्रासमा वितिरहेको लकडाउनको समयलाई रमाइलो र आशावादी बनाउने उद्धेश्यका साथ चर्चित नेपाली टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’ निर्माण गरेको एसआरबीएन मिडियाले ‘रन्डेभु विथ सम्पदा’ नामक कार्यक्रम सुरु गरेको छ । लेखिका तथा सिनेकर्मी सम्पदा मल्लले सन्चालन गर्ने यस कार्यक्रममा देशका विभिन्न क्षेत्रका दिग्गज र चर्चित व्यतित्वहरुसंग लकडाउनले उनीहरुको जीवनशैलीमा पारेको प्रभावको विषयमा भलाकुसारी गरिनेछ ।
“हामीले लकडाउनकै समयमा मझेरी नामक लकडाउन कविता प्रतियोगिता आयोजना गर्यौ । त्यसैको सफलताले यो कार्यक्रम गर्ने हौसला दियो । अहिले लकडाउनको समयमा हामीलाई मनपर्नै सेलिब्रेटीहरुले कसरी समय काटिरहेका होलान् भन्ने कौतुहुलता सबैमा छ । यही आइडियाले यो कार्यक्रम जन्मायो ।” एस आर बी एन मीडियाका क्रियेटिभ डिरेक्टर सुरक्षा अधिकारी भन्छिन् । यस कार्यक्रममा पाहुनाको रुपमा चर्चित व्यतित्वहरु दीपकराज गिरी, दीपाश्री निरौला, अनिल केशरी शाह, माल्भिका सुब्बा, गौरी मल्ल, गौरिका सिंह, आसिफ शाह, सुरज सिङ ठकुरी, सत्य-स्वरुप, अनुप बराल, दीया मास्के, विपिन कार्की आदि हुनेछन् ।
“लकडाउनको समयमा सबैले आफ्नो घरबाटै इन्टरनेटको माध्यमबाट अन्तर्वार्ता दिइरहनुभएको छ । यो आफैमा एउटा नयाँ प्रयोग हो र डिजिटल क्रान्तिको थालनी पनि हो । लकडाउन सकिएपछि पनि आजको व्यस्त समयमा यस्तो नयाँ प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण पनि हो” एसआरबीएन मिडियाका आइटी हेड रिवाज घिमिरेले भने । त्यस्तै सम्पदा मल्लले कार्यक्रमले घरको मोनोटोनस दैनिकी तोड्न मात्र होइन नयाँ उत्साह सञ्चार गर्नमा पनि सघाउने आशा व्यक्त गरिन् । “यो लकडाउनले धेरै मानिसमा नकारात्मक भावना पैदा भइरहेको छ । यो कार्यक्रमले सबैलाई हाँसो, उत्साह र प्रेरणा दिन सके यो कार्यक्रम सफल भएको ठान्नेछु” कार्यक्रमको सन्चालिका र कार्यकारी निर्माता मल्लले भनिन् । यो कार्यक्रम एसआरबीएन मिडियाको गुन्द्रुक युटुब च्यानल मार्फत हरेक दिन प्रसारण हुनेछ ।
प्रतिक्रिया