तीन महिनामा थपिए १ करोड ६० लाख नेटफ्लिक्स प्रयोगकर्ता

स्ट्रिमिंग प्लेटफर्म नेटफ्लिक्समा यो वर्षको पहिलो ३ महिनामा १ करोड ६० लाख नयाँ प्रयोगकर्ताहरु थपिएका छन् । अघिल्लो वर्षको पहिलो तीन महिनाको तुलनामा यो आँकडा करिब दोब्बर हो ।

कोरोनाका कारण विश्वका विभिन्न मुलुकमा लकडाउन लागु गरिएसँगै मानिसहरु घरभित्रै बस्न बाध्य छन् । यसैको कारणले नेटफ्लिक्सका प्रयोगकर्ताहरु ह्वात्तै बढेको बताइएको छ । त्यस्तै नेटफ्लिक्सले आफ्ना शेयरधनिहरु लाई पठाएको चिठ्ठीमा लकडाउन खुले संगै प्रयोगकर्ताहरु घट्ने अनुमान गरिएको छ । इन्टरनेट सेवा प्रदायकहरूमा परेको प्रभाव कम गर्न गत महिना नेटफ्लिक्सले आफ्ना भिडियोको गुणस्तर घटाएको थियो भने थप ग्राहकहरुको सेवाको लागि भनेर कर्मचारीहरु पनि थप गरेको थियो । आगामी ३ महिनामा थप ७५ लाख ग्राहक थपिने अनुमान नेटफ्लिक्सले गरेको  छ ।

कोरोना महामारी संगै नेटफ्लिक्सले विभिन्न चरणमा रहेका आफ्ना फिल्म तथा सिरिजहरुको सम्पूर्ण कामहरु स्थगित गरेको थियो । कामहरु ठप्प भएपछी त्यसबाट प्रभावित बनेका आफ्ना कलाकार तथा प्राबिधिकहरुलाई राहतको लागि नेटफ्लिक्सले एक फन्ड पनि बनाएको छ ।