निर्देशन विधामा काम गरिरहेकाहरु अप्ठ्यारोमा परे निर्देशक समाजले सहयोग गर्ने

नेपाल चलचित्र निर्देशक समाजले निर्देशन विधामा काम गर्नेहरुलाई दैनिक खानपान र स्वास्थ्य सम्बन्धि समस्या आइपरेमा सहयोग गर्ने जनाएको छ । समाजद्वारा जारी बिज्ञप्तिमा कोभिड १९, कोरोना संक्रमणको महामारीको अवस्थामा चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने सहायक निर्देशक, मुख्य सहायक निर्देशक वा निर्देशकहरुलाई महामारीको कारणबाट दैनिक खानपान र स्वास्थ्यको समस्या पर्न गएको खण्डमा यथासिघ्र संस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनिएको छ ।

सोमबार जारी गरिएको बिज्ञप्तिमा राहत सम्बन्धि जानकारी तथा नामहरु गोप्य राखिने बताइएको छ । साथै यो महामारीको बेलामा लकडाउन पालना गरेर घरभित्रै सुरक्षित बस्न र सृजनात्मक योजना बनाएर समयको सदुपयोग गर्न अनुरोध पनि गरिएको छ ।

संघका महासचिव जनक दीप पराजुलीले निर्देशक समाजको सदस्यता नलिएका सहायक निर्देशक, मुख्य सहायक निर्देशक वा निर्देशकहरुलाई पनि राहत प्रदान गरिने बताएका छन् । उनले मेरोफिल्म  संग कुरा गर्दै आजबाट राहत वितरण शुरु भइसकेको जानकारी दिए ।