हलहरु खुलेपछि पनि ठूला बजेटका हलिउड फिल्महरुलाई चुनौती
यतिबेला सबै हलहरु कोरोना भाइरसको कारण बन्द अवस्थामा रहेका छन् र यसले अर्थतन्त्रमा ठूलो हानी पुर्याइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले बिहिबार फिल्महलहरु आगामी महिनाबाट बिस्तारै खुल्न सक्ने सम्भावना रहेको बताएका छन् ।
तर हलहरु पुन:संचालनमा आएको खण्डमा पनि स्टुडियोहरुले निर्माण गरेका ठूलो बजेटका फिल्महरु छिट्टै हलमा लाग्ने सम्भावना अत्यन्त न्युन रहेको छ । युनिभर्सल स्टुडियोको कमेडी फिल्म ‘द किङ्ग अफ स्टाटेन आइल्याण्ड’ (जुन १९), वार्नर ब्रोदरको क्रिस्टोफर नोलन निर्देशित साइ-फाई थ्रिलर ‘टिनेट’ (जुलाई १६), डिज्नेको लाइभ एक्सन फिल्म ‘मुलान’ (जुलाई २४) र वार्नर ब्रोदरको कमिक एडभेन्चर ‘वंडर वुमन १९८४’ (अगष्ट १४) भने आफ्नो परिवर्तित रिलिज मितिमा अडिग छन् ।
फिल्महलहरुको चेन सिनेमार्कले मानिसहरु जुलाईको शुरुवाती समयमा हल जान शुरुगर्ने प्रक्षेपण गरेको छ । तर त्यतिबेला पनि पर्याप्त मानिसहरु हल जानेछन भन्ने निश्चित छैन ।
हलमा मानिसहरुको शुरुवाती चाप राज्यहरु अनुसार पनि फरक पर्नेछ, भाइरसबाट कम प्रभावित राज्यहरुमा छिट्टै दर्शकहरुको चाप बढ्नेछ भने न्यु योर्क र न्यु जर्सीजस्ता अति प्रभावित ठाउँहरुमा लामो समय सम्म हलहरु बन्द नै रहनेछन् । त्यसैले शुरुवाती चरणमै ठुला स्टुडियोका फिल्महरु रिलिज भए भने तिनीहरुले सोचे अनुसार कलेक्सन गर्न सक्ने छैनन् ।
बक्स अफिस विज्ञ जेफ बक भन्छन् – “मोंटानामा भन्दा न्यु योर्क र लास अन्जेलसमा थिएटरहरु सुचारु हुन धेरै समय लाग्नेछ र कसैले पनि ‘मुलान’ या ‘टिनेट’ जस्ता फिल्महरु सानो बजारको भरमा रिलिज गर्ने छैनन्” ।
अमेरिका भन्दा बाहिरको फिल्म बजारले पनि यसमा प्रभाब पार्नेछ । ‘मुलान’ र ‘वंडर वुमन १९८४’ जस्ता फिल्मको माग विश्वभर नै रहेको छ । यी फिल्महरुले अत्याधिक नाफा कमाउनको लागि बिदेशी बजारको भर पर्नुपर्नेछ । “यदि एकै समयमा सबै देशका फिल्महलहरु खुलेनन् भने विश्वभरको बजारमा निर्भर हुने ठुला बजेटका फिल्महरुको लागि निकैनै कठिन हुनेछ” – कोमस्कोर का विश्लेषक पौल डेरगाराबेडियनले बताए ।
त्यस्तै अमेरिकाका हलहरु खुले भने पनि केहि समय हलहरुले दर्शकको संख्या सम्बन्धि केहि नियमहरु पालना गर्नु पर्ने सम्भावनाहरु रहेको छ । सुरक्षाको दृष्टिकोणबाट यो महत्वपूर्ण छ तर यसले फिल्म हल संचालकहरु र फिल्म निर्माताहरुलाई भने आर्थिक रुपले हानि गर्नेछ । डेरगाराबेडियनका अनुसार हलमा न्युन संख्यामा मात्र दर्शक राख्न पाउने नियमले झन् गार्हो बनाउने छ ।
अर्को तर्फ लकडाउन पछि दर्शकहरु हलप्रति कत्तिको आकर्षित हुन्छन् भन्ने कुरा पनि छ । लामो समय सम्म घरभित्र बस्नु परेको कारण धेरै मानिसहरु मनोरन्जनको लागि हल जान्छन् कि भन्ने अनुमान गर्न सकिन्छ तर मानिसहरु त्रासका कारण भिडभाडमा ननिस्किने सम्भावना पनि उत्तिकै रहेको छ । चीनको उदाहरणले पनि यो कुराको पुष्टि गर्दछ । कोरोनाको प्रभाब कम भएसंगै मार्च महिनामा चीनमा हलहरु खुले तर त्रासको कारण केहि दिन पछिनै बन्द गर्नुपर्ने अवस्था आयो ।
समस्याको समाधानको लागि अन्तरराष्ट्रिय बजारमा निर्भर नहुने साना बजेटका फिल्महरु रिलिज गर्न सकिनेछ । प्राय कमेडी जनराका फिल्महरुको बजेट पनि कम हुन्छ र तिनले उत्तरी अमेरिकाबाट नै लगानी सुरक्षित गर्न सक्छन् । त्यस्तै हलको लागि पुराना चर्चित फिल्महरु सस्तो मूल्यमा उपलब्ध गराउनु पनि उत्तम हुनेछ । तर दर्शकहरुले बाहिर निस्किन र भिडभाडमा जानको लागि सुरक्षित महसुस नगरे सम्म यस समस्याको स्थाई समाधान भने हुने देखिन्न ।
हलिउडमा एउटा भनाइ छ – ‘द शो मस्ट गो अन (शो जसरि पनि चलिरहनु पर्छ)’, तर कोरोना भाइरसको समयमा यो असम्भब जस्तै देखिएको छ ।
(स्रोत: भेराइटी)
प्रतिक्रिया