चार्टर्ड फ्लाइटमा आफ्नो देश फर्किइन् भुटानी अभिनेत्री उगेन छोदेन

भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएकी छिन् । उनी नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्नको लागि ८० दिनअघि काठमाडौं आएकी थिइन् ।

उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९:०० बजे विमान भुटानको पारो विमानस्थल फर्केको थियो । अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारेन्टाइन सुरु भइसकेको छ । त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन् । उनी थिम्पुकै वासिन्दा हुन् ।

दीपेन्द्र लामाद्वारा निर्देशित र किरण नेपाली निर्माता रहेको फिल्म ‘२ नम्बरी’ को गत चैत ८ गतेसम्म कास्कीको घाचोकमा छायांकन भएको थियो । निर्देशक लामाका अनुसार अझै ७५% छायांकन बाँकी छ । लकडाउन खुलेर स्थिति सामान्य भएपछि फिल्मको छायांकन शुचारु हुनेछ । उगेन पनि फिल्मको बाँकी छायांकन सिध्याउन भुटानबाट आउनेछिन् । फिल्ममा उगेनले दयाहाङ राईको जोडी भएर अभिनय गरेकी छिन् । आठवटा भुटानी फिल्ममा अभिनय गरिसकेकी उगेनको यो पहिलो नेपाली फिल्म हो ।

“लामो समयपछि भुटान फर्किन पाउँदा खुसी छु, अब क्वारेन्टाइन अवधिभर फिल्महरु हेर्नेछु र केही किताब पढ्नेछु” – उगेनले पारोस्थित होटेल ओलाथाङ पुगेर भनिन् ।  उनले अगाडी भनिन् – “अहिलेसम्म भुटानबाहिर सबैभन्दा लामो समय बिताएको यही नै हो । अब परिवारसँग समय बिताउँछु र कामना गर्छु, चाँडै नेपाल फर्केर काम सिध्याउन पाउँ” ।

लकडाउनको समय उगेनले काठमाडौंको एक होटेल र आफन्तको घरमा बिताएकी थिइन् । ‘२ नम्बरी’ मा अभिनय गर्नका लागि उगेनले कलाकार विजय बरालसँग विशेष प्रशिक्षण लिएकी थिइन् । ‘२ नम्बरी’ मा पल शाह र वर्षा राउतको जोडीलाई पनि मुख्य भूमिकामा हेर्न पाइनेछ ।