“शो बिजनेस, शो अफ बिजनेस बन्यो” – शत्रुघन सिन्हा

भारतमा थुप्रै फिल्मकर्मीहरुले कोरोना प्रभावितहरुको लागि भनेर सहयोग गरिरहेका छन् । संचार माध्यमहरुमा पनि अधिकांश खबरहरु त्यहि सहयोगको बिषयमा हुने गरेका छन् ।

यहि प्रसङ्गमा भारतीय अभिनेता शत्रुघन सिन्हाले बलिउडको ‘शो बिजनेस’ आजकल ‘शो अफ बिजनेस’ बनेको बताएका छन् । उनको भनाइ २५ करोड सहयोग गरेका अक्षय कुमार प्रति लक्षित थियो । उनले एक अन्तर्वार्तामा आफुले गरेको आर्थिक सहयोगको प्रचार बाजी गर्नु ‘अश्लिल’ काम हो भनेका हुन् । उनका अनुसार त्यसो गर्दा आम मानिसहरुले कसले कति रकम सहयोग गर्यो भन्ने आधारमा सहयोग गर्ने प्रति आफ्नो धारणा बनाउने गर्छन् । उनले अगाडी भनेका छन् – “दान संकल्प भनेको व्यक्तिगत बिषय हो, शो बिजनेस शो अफ बिजनेस भएको छ” ।

शत्रुघनले प्रधानमन्त्रि मोदीको लकडाउन गर्ने निर्णयको प्रसंशा गरेका छन् तर निर्णय ढिलो गरिएको बताएका छन् । उनले कोरोनाले फैलिरहेको बेलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको भारत भ्रमण माथि पनि प्रश्न गरेका छन् । यतिबेला शत्रुघन परिवार सँग क्वारेन्टाइनमा बसिरहेका छन् ।