स्वस्तिमा : आधा सफल, आधा असफल (वर्ष समीक्षा)
पारिश्रमिकको कुरामा टिप्पणी गरेपछि अभिनेत्री स्वस्तिमा खड्का यो वर्ष नराम्ररी विवादमा परिन् । कसैले २० लाख लिन्छ भने उसको फिल्मले कम्तीमा करोडको व्यापार गर्नुपर्छ भनेर मिडियामा आएको उनको अभिव्यक्ति अर्की अभिनेत्री पूजा शर्माप्रति लक्षित भन्दै हेडलाइन बने । पूजा शर्माले जवाफी हमला त गरिन् नै तर, स्वस्तिमा यही केसमा केही युट्युबर प्रति आक्रामक बनिन् र युट्युबमा अन्तर्वार्तानै नदिने घोषणा गर्न पुगिन् । तर, उनको यो घोषणा केही दिन पनि टिकेन । ‘हजार जुनीसम्म’ फिल्मको कार्यक्रमबाट सुरु भएको यो विवाद ‘घामड शेरे’ सम्म आइपुग्दा फुमन्तर भइसकेको थियो । ‘घामड शेरे’ मा उनले नछुटाइ दिन्न भनेका युट्युबलाई पनि अन्तर्वार्ता दिइन् ।
दुवै फिल्म असफल
स्वस्तिमा खड्काको यो वर्ष दुइ वटा फिल्म प्रदर्शनमा आए – ‘हजार जुनीसम्म’ र ‘घामड शेरे’ तर दुवै फिल्म असफल भए ।हजार जुनीसम्म’ मा हिट फिल्म दिने भनि चिनिएका निर्देशक विकासराज आचार्यले बनाएको फिल्म थियो फिल्ममा धेरै नाम चलेका कलाकारको अभिनय थियो । तर, गुदी गतिलो नभएपछि स्टारकास्टले मात्र फिल्म थेगेन ।
‘घामड शेरे’ उनका लागि ऐतिहासिक फिल्म थियो । श्रीमान् निश्चल बस्नेतसँग गीतबाहेक पहिलोपल्ट स्वस्तिमाले स्क्रिन सेयर गर्दै थिइन् र दर्शक यो जोडीलाई पर्दामा हेर्न आतुर थिए । फिल्म रिलिजभन्दा अघि फिल्म राम्रै कन्ट्रोभर्सी सिर्जना गरेको थियो । फिल्म रिलिजकै छेकोमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अन्टसन्ट बोलेपछि उनलाई लक्षित गर्दै थुप्रै मिम र ट्रोल बनेका थिए । ‘घामड शेरे’ ले पनि यो मौका छोडेन । सभापतिको तस्बिर राखेर फिल्मको प्रचार गर्यो । तर, नेविसंघले विरोध गरेपछि फिल्मले माफी माग्नु पर्यो । पछि पनि पर्याप्त शो नपाएको बहानामा फिल्म सर्यो । तर, पछि रिलिज हुँदा पनि दर्शकले रुचाइदिएनन् ।
अवार्डले राहत
गत साल रिलिज फिल्मले धोका दिए पनि उनले त्यही साल २०७५ सालको फिल्म ‘बुलबुल’ बाट दुई दुई अन्तर्राष्ट्रिय अवार्ड जितिन् । उनले श्रीलंकामा आयोजित ‘सार्क फिल्म फेस्टिभल २०१९’ मा ‘पर्फर्मर अवार्ड’ जितिन् भने फ्रान्समा पनि फिल्मले अडियन्स अवार्ड पायो । त्यसबाहेक गत साल वितरण गरेका लगभग सबै अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि उनकै पोल्टामा पर्यो । यसमा राज्यले बाँड्ने राष्ट्रिय अवार्डदेखि इमेज, कामना, निफ अवार्ड सम्म थिए ।
धुमधामको घुमघाम
घुमघामका लागि पनि गत साल स्वस्तिमाका लागि स्मरणीय रह्यो । उनी फिल्म ‘चपली हाइट ३’ साइन गरेर केहि समयका लागि म्यानमार पुगेकी थिइन् । उनी म्यानमारमा पुगेर समुन्द्रको किनारमा बसेर बोल्ड तस्बिरहरु खिचाएपछि ति तस्बिरले राम्रै चर्चा कमाए । उनको फ्रान्सको विकनी तस्बिरले पनि गसिप कोलममा राम्रै ठाउँ पायो ।
घरेलु बजारमा फिल्म असफल भए । तर, गत साल थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड जितिन् । समग्रमा स्वस्तिमाको गत साल मिश्रित रह्यो । आधा सफल , आधा असफल ।
प्रतिक्रिया