यसकारण बन्द भएको थियो ९० को दशकको चर्चित शो ‘शक्तिमान’
कोरोना भाइरसका कारण नयाँ कार्यक्रमहरु नभए पछि भारतीय टेलिभिजन च्यानलले यतिबेला पुराना कार्यक्रमहरु देखाईरहेको छ । यहि क्रममा ९० को दशकको चर्चित कार्यक्रम ‘शक्तिमान’ पनि पुन: प्रसारण गरिदै आइएको छ । सन् १९९७ देखि शुरु भएको यो कार्यक्रम बिशेषगरि बालबालिकाहरु माझ अत्यन्त चर्चित बनेको थियो । यो भारतको पहिलो सुपरहिरो शो थियो र मुकेश खन्नाले यसमा शक्तिमानको भूमिका निर्बाह गरेका थिए भने उनि शो का निर्माता पनि थिए । यस शो को प्रसारण सन् २००५ मा अचानक बन्द भएको थियो ।
बच्चाहरु ‘शक्तिमान’ हेरेर घरको छतबाट हामफालेको भएर शो बन्द भएको हल्ला पनि चलेको थियो भने टिआरपी का कारण बन्द भएको भन्ने चर्चा पनि चलेको थियो । हालै एक अन्तर्वार्तामा मुकेश खन्नाले कार्यक्रम बन्द हुनुको खास कारणबारे मुख खोलेका छन् । उनले भने – “शो पहिले शनिबार बिहान र मंगलबार साँझ प्रसारण हुन्थ्यो, त्यतिबेला मैले प्रति शो ३.८ लाख तिर्नु पर्थ्यो, पछि शो हिट हुदैगएपछि दुरदर्शनकै सल्लाह अनुसार आइतबार प्रसारण हुनथाल्यो र मैले प्रति शो ७.५ लाख तिर्नु पर्ने भयो, मैले स्वीकार गरें । तर शो जब ३५० भाग पुग्यो तब उनीहरुले अझै शुल्क बढाउने कुरा निकाले जसलाई मैले अस्विकार गरें र शो बन्द भयो” ।
यतिबेला मुकेश शो को सिक्वेल बनाउने तयारी गरिरहेका छन् । उनका अनुसार लकडाउन नभएको भए उनले सिक्वेलको घोषणा गरिसकेका हुन्थे ।
प्रतिक्रिया