हिजोको दिन र आँखामा आँसु : आशिष सचिनको एकाउन्न हजार सहयोग
गायक तथा कलाकार आशिष सचिन गौतमले केन्द्रीय राहत कोषमा रु ५१००० सहयोग गर्ने भएका छन् । पिरिम नलाउने, एक कान दुई कान मैदान लगायत चर्चित गीतका गायक आशिषले सुरक्षाकर्मीको लागि समेत केही सहयोग गरेका छन् । उनले मास्क, पन्जा, स्यानिटाइजर लगायत वितरण गरेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् । उनले एक भावुक पोष्ट सेयर गर्दै सहयोग गर्ने बाचा गरेका छन् । कोभिड १९ अर्थात कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएको अवस्थामा नेपालमा समेत केही दिन यता लकडाउन गरिएको छ ।
हेरौ उनको पोष्ट :
मेरो हिजोको दिन र आखामा आँसु । सलाम छ !!
सरकारद्वारा लागू गरिएको लकडाउनको पूर्ण पालना गरेर घरैमा बसिरहेको थिए । हिजो विहान, जरुरी कामले अस्पताल जानुपर्ने भएकोले अस्पतालको कागजातहरु बोकेर आफ्नो गाडीमा निस्किए । लकडाउनको पूर्ण पालना भएको, चोक चोकमा सुरक्षाकर्मीहरुले चेकजाच गर्नु भै आफ्नो कर्तव्य पूरा गरिरहनु भएको देखेर खुसी लाग्यो । तर, उहाँहरु मध्ये कतिपय ले सर्जिकल मास्कको स्थानमा सामान्य कपडाको मास्क प्रयोग गरिरहनुभएको थियो र हातमा पन्जा समेत लगाउनुभएको थिएन । यो त सरासरी उहाँहरुको र आम जनताको समेत स्वास्थ्यमा खेलबाड थियो । मलाई अत्यन्त अत्यास लागेर आयो । मेरो गाडीमा १००/१५० जति ग्लोब्स थियो। मैले तिनकुनेबाट धुम्बाराही स्थित घरसम्म सबैलाई पन्जा वितरण गर्दै आए ।
घरमा पुगेपछी सडकका सुरक्षाकर्मीहरुको अवस्था सम्झेर मन चिन्तित भैरह्यो । मन मान्दै मानेन। केही त गर्नै पर्छ जस्तो लाग्यो । १५ केस पानी, ८ केस चाउचाउ, एक बाकस ग्लोब्स, केहि १४४ पिस स्यानिटाइजरको बन्दोबस्त गरेर,पत्रकार मित्र प्रभात लामासङ्ग पुनः गाडीमा काठमाडौंको करिब २०-२५ वटा चोकहरुसम्म हामी पुग्यो। हाम्रो लागि आफ्नो जीवन दाउमा राखेर आफ्नो कर्तव्य निर्वाह गरिरहनुभएका सुरक्षाकर्मीहरुलाई सानै भए पनि सहयोग गर्न पाउँद र उहाँहरुको मनोबल थोरै भए पनि बढाउन पाउदा मन साह्रै हर्सित भयो ।
तर, उहाँहरुको अवस्था देखेर र कुरा सुन्दा आखामा आँसु आयो। ग्लोब्स को व्यवस्था पुरा रुपमा त थिएन नै, एउटै मास्कले चार दिनदेखी काम चलाइरहेको सम्म अवस्था देखियो। सरकारले गरेको कामको म समर्थन गर्दछु, जनताको लागि निकै राम्रो व्यवस्थापन गरेको छ, धन्यवाद पनि दिन्छु। तर, जाबो सामान्य पन्जा र स्यानिताइजरको लागि हारालुछ गर्नुपर्ने अवस्थामा हाम्रा सुरक्षाकर्मीहरुले जिम्मेवारी बहन गर्नुपर्नु वास्तवमै गम्भीर र सोचनीय कुरो हो । म यो देश को नागरिक र साथै एउटा कलाकार पनि भएको नाता ले सम्बन्धित निकाय र अधिकारीको यश विषयमा ध्यानाकर्षण गराउन चाहन्छु ।
र, पुनः सबैमा आग्रह गर्न चाहन्छु कि कोरोना आफैं तपाईंकोमा आउदैन, उसलाई घर बाहिर लिन जानुपर्दछ, बाहिर गएको मान्छेसङ्गै कोरोनाले हाम्रोमा प्रवेश पाउने हो। तसर्थ, घरमै बसौं , आफू आफ्नो परिवार र समाजको सुरक्षा गरौं ।
अन्त्यमा, हिजो मलाई पूर्ण रुपमा सहयोग गर्न हुने मेरो मिल्ने साथी पत्रकार मित्र (प्रभात लामा )सरलाई पनि धेरै धरै धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा, मेरो तर्फ़बाट सहयोग स्वरुप रु ५१००० नेपाल सरकारको केन्द्रिय राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु । भोल को दिनमा केहि अभावले हाम्रो दे मा मान्छे त के कुकुर बिरालो पशुपन्छी पनि मर्ने दिन नआओस ।
धन्यवाद ।
प्रतिक्रिया