लक डाउनमा रीमा विश्वकर्माको ‘याद’
कोरोना भाइरसको संक्रमण नेपाल भित्रिएसंगै नेपालमा लकडाउन सुरु भएको छ । फिल्म हल, सामाजिक जमघट, कार्यक्रम त केही समय अघि नै बन्द भएको हो । यो परिस्थितिमा कलाकार तथा कार्यक्रम संचालक रीमा बिश्वकर्मा घर भित्र नै सुरक्षित तवरले बसिरहेकी छिन् । सेल्फ क्वारेन्टाइनमा रहेकी उनले दोश्रो दिनमा एक कविता सार्वजनिक गरेकी छिन् । उनी आफैँले लेखेको कवितामा ‘याद’ का कुरा गरिएको छ । सायद विगतको याद जुन अब उनको रहेन । आफ्नै लागि समय दिदै गर्दा बाँकी रहेका र रहर पुरा नभएका काम गरौँ भन्दै गर्दा सार्वजनिक उनको यो कविता एक अनुभवी कविले लेखेको भन्दा कम छैन ।
हेरौं उनको ‘याद’ कविता :
सुन न, निदायौ तिमी ?
छैनौ भने केही बात मारौ न ।
केही हिजोका केही आजका
केही अपुरा सपनाका
केही पुरा भएका चाहनाका
केही गुम्सिएका भावनाका ।
सुन न,
आजकाल पनि कविता लेख्छौ तिमी?
अपरिचितसँग वार्तालाप अझै गर्छौ?
सबै संसार निदाएपछी रातको अन्धकारमा
आजकाल पनि
टुलुटुलु बिहानीलाई कुर्छौ?
आजकाल पनि
रातको सुनशानमा
सुस्केराको सुर भर्छौ ?
साँच्ची,
तिम्लाई भनेँ कि भनिनँ मैले?
तिम्रो बोझिलो आवाज कहिले काहीं
यतै कतै गुन्जी रहे जस्तो लाग्छ
फेरी ब्यस्त शहरको भिंडभाड
हल्लाखल्ला होला भनी टारिदिन्छु ।
साँच्ची तिम्ले सम्झिन्छौ मलाई ?
सम्झिन्नौ होला है…
अब तिमी आँफै त तिमी रहेनौ
कता केमा रुमल्ली रहेको
अर्कै मान्छे भयौ!
मलाई हेर त,
अझै उस्तै छु,
त्यस्तै चञ्चल,
अनी त्यस्तै अलमल !
प्रतिक्रिया